Header Ads

पूर्व सिक्किमको 12900 फिटको उच्चाईमा स्थित छाङ्गु झील परिसरमा घिर्लिङ निर्माण 99 परसेंट पुरा



प्रबीन खालिंग 
गान्तोक। पूर्व सिक्किमको 12900 फिटको उच्चाईमा स्थित चर्चित पर्यटकीय गन्तव्य छाङ्गु झील परिसरमा निर्माण गरिएको बहुप्रतिक्षित घिर्लिङ (रोप वे) पर्यटकहरूको निम्ति चाँडै शुरू हुने निश्चित भएको छ। मोनो क्याबल गण्डोला रोपवे प्रणालीको यो घिर्लिङ 12900 फिटदेखि 14000 फिटको उच्चाईसम्म यात्रीहरूलाई लिएर जानेछ। कन्भेयर रोपवे सर्विस प्राइभेट लिमिटेडद्वारा निर्माण गरिएको यो घिर्लिङको 650 सय मिटर लम्बाई रहेको छ भने  भारतकै सर्वाधिक उच्चाईमा रहेको रोमाञ्चक घिर्लिङको रूपमा स्थापित छ। सिक्किमका उद्यमी केबी गुरुङ जो यो परियोजनाका स्थानीय अंशदार हुन्। राज्य सरकारको पर्यटन  तथा नागरिक उड्डयन विभागको अधिनमा निर्माण गरिएको यो परियोजनाको निर्माण कार्य 99 प्रतिशत पुरा भइसकेको उद्यमी गुरुङले बताए।

2009 सालदेखि आधिकारीक रूपमा शुरू गरिएको यो परियोजना 14 करोड रूपियाँ भन्दा केही अधिक मूल्य लगानी गरेर तयार पारिएको छ।  12 वटा क्याबिन रहेको यो घिर्लिङले जसमा प्रति क्याबिनमा 6 व्यक्ति गरेर  एक घण्टामा 4 सय पर्यटकले  12900 फिट देखि लगभग 14000 फिटको उच्चाईसम्मको यात्रा गर्न सक्नेछन्। उद्यमी गुरुङले बताएअनुसार 2009 सालदेखि निर्माणकार्य विधिवत शुरु गरिएको भए पनि प्रतिकूल मौसम अनि दूर्गम पहाडी क्षेत्र भएको तथा वन तथ पर्यावऱण संरक्षणको हिसाबले काम गर्नुपर्दा आइपर्ने औपचारिकता पुरा गर्दा केही ढिलो गरेर निर्माण कार्य पुरा हुन सकेको छ। यद्यपी यो निर्माण कार्य पुरा हुनका साथै सिक्किमको पर्यटनमा थप आकर्षण र नयाँ प्वाँख थपिएको उनले बताए। यो रोप वेको स्थानीय अंशदार भएको नाताले उनले पर्यावरणलाई ताकमा नराखी सुरक्षीत प्रकारले कठोर पहाड़ी क्षेत्रमा कठिन प्रयास गरेर निर्माण कार्य पुरा गरेको तथा मुख्यमन्त्री पवन चामलिङको सिक्किमेली पर्यटनको दिशामा विकास गर्ने सोच अनुरूप यसले साकार रूप प्राप्त गरेको बताए। यसलाई अप्रेल महिनाकै अन्तिम सातादेखि पर्यटकहरूको निम्ति खोल्ने निर्णय गरिसकेको तथा निर्माण कार्य 99 प्रतिशत पुरा गरिएको बताउँदै मुख्यमन्त्री पवन चामलिङकै हातबाट यसलाई पर्यटकहरूको निम्ति सार्वजनिक रूपमा खुल्ला गर्ने योजना रहेको उनले बताए।

अर्कोतिर यहाँ अहिले 30 जना कर्मचारी कार्यरत छन् जसमा 90 प्रतिशत कर्मचारी स्थानीय युवाहरूलाई लिइएको छ। अंशदार गुरुङले भने, यहाँबाट सिर्जना हुने सबै अवसरहरू स्थानीयहरूको निम्ति सुनिश्चित गर्ने प्रयास गरेका छौं। तकनीकिय सहयोगको निम्ति बाहेक अन्य सबै कर्मचारी स्थानीयलाई  नियुक्त गरेका छौं। उनले यो परियोजना उत्घाटन भएपछि पर्यटकहरूले अहिलेसम्म छाङ्गु र यसको शिरमा रहेको सुन्दरता देख्न पाउने अनि यसबाट अझ क्षेत्रको चर्चा बढेर जाने बताए। यो परियोजना सिक्किमको पर्यटनको मानचित्रमा एउटा कोसे ढुङ्गा साबित हुने तथा सिक्किमको निम्ति यो थप आकर्षण र रोमाञ्चक पर्यटनको केन्द्र बन्नेछ गुरुङले बताए।

यसैगरि यो परियोजनाका सिविल कन्टेक्टर बीके राईले निर्माण कार्य कठिन र चुनौतीपूर्ण हुँदै हुँदै पनि निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिसक्दै आफूले नयाँ अनुभव बटुल्ने मौका पाएको बताए। उनले भने हिमाली क्षेत्र भएकोले ठूलो ठूलो चट्टानहरूमाथिबाट निर्माण कार्य गर्न एउटा गत्तिलै चुनौती थियो तर सबैको समन्वय र सहकार्यले सफल बनेकोछ जुन सिक्किम पर्यटनकै निम्ति एउटा उदाहरणीय र महत्व राख्ने निर्माण भएको छ। 

अन्तमा तकनीकि जानकारी दिँदै घिर्लिङका अभियन्ता सुप्रिया मण्डलले पहिले सिक्किमा निर्माण भएका घिर्लिङभन्दा धेरै उच्चाईमा रहेको हुनाले यसले पर्यटकहरूको मन जित्न सक्ने र धेरै भन्दा धेरै पर्यटकहरूलाई आकर्षित गर्ने निश्चित रहेको बताए। उनले भने यो परियोजना उत्घाटन भएपछि सिक्किम पर्यटनको राजस्व वृद्धिमा मद्दत पुग्ने र पर्यटनको क्षेत्रमा थप असल कार्यको रूपमा यसको मान्यता रहने बताए।

घिर्लिङमा चडेर अन्तिम स्टेशन पुग्न 3 मिनट 2 सेकेण्ड समय लाग्ने गर्दछ। अन्तिम स्टेशनबाट छाङ्गु झीलको सम्पूर्ण भाग, भारत चीन सीमाना नाथुला भञ्जाङ, भोटाङ, दार्जीलिङ र कञ्चनजङ्घा पर्वत श्रिङ्खलाको सुन्दर दृष्यले पर्यटकहरूलाई  निम्ति नयाँ आनन्द र रोमाञ्चक अनुभव दिनेछ।




Powered by Blogger.