Header Ads

इरानका पूर्व राष्ट्रपति अक्बर हासेमी राफ्सन्जानीको ८२ वर्षको उमेरमा निधन


सन् १९८० यता इरानी राजनीतिका प्रभावशाली पात्र रहेका पूर्व राष्ट्रपति अक्बर हासेमी राफ्सन्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ। सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका उनलाई हृदयघात भएको जनाइएको छ। सन् १९७९ को क्रान्तिमा मुख्य भूमिका खेलेका उनी आफ्नो जीवनको उतरार्द्धमा अनुदार कट्टरपन्थीहरुका लागि एउटा चुनौती बनेका थिए। सैद्धान्तिक रुपमा फरक मत राख्ने सर्वोच्च नेता आयोतुल्लाह खामेनीले उनलाई सुखदुखको साथी भनेका छन् र उनको निधनलाई कठिन र अपूरणीय क्षति भनेका छन्।

तीन दिने राष्ट्रिय शोकको घोषणा
पूर्व राष्ट्रपति राफ्सन्जानीको निधनमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ। तेहरानमा उनको अन्त्येष्टी गरिने दिन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। संचारमाध्यमहरुका अनुसार तेहरानस्थित एक अस्पतालमा आइतबार भर्ना गरिएका उनलाई बचाउन चिकित्सकहरुले एक घण्टा जति प्रयास गरेका थिए। उनको निधनको घोषणा गर्ने क्रममा टेलिभिजनका समाचारवाचकले रुँदै इस्लाम र क्रान्तिका लागि अनवरत संघर्ष गरेका राफ्सन्जानी स्वर्गका लागि प्रस्थान गरेको बताएका थिए। उनको राष्ट्रपति हसन रुहानीसँग एकदमै नजिकको सम्बन्ध थियो। उनको निधनको घोषणा हुनुअघि राष्ट्रपति रुहानी अस्पताल पुगका थिए।

इरानी क्रान्तिका एक महान जीवित व्यक्ति थिए
राष्ट्रपति रुहानीले उनलाई क्रान्ति, धैर्य र प्रतिरोधका प्रतिक भनेका छन्। बीबीसी संवाददाता कासरा नाजी भन्छन्, "राफ्सन्जानी इरानी क्रान्तिका एक महान जीवित व्यक्ति थिए जो कहिल्यै समाप्त नुहने इरानका अनुदार कट्टरपन्थी र मध्यमार्गी बिचको राजनीतिक संघर्षमा आफूलाई सधैँ प्रभावशाली व्यक्तिका रुपमा स्थापित गराउन सक्थे।" इरानमा केहि वर्ष यता जारी सुधार अभियानका केन्द्रीय नेताका रुपमा उनलाई लिने गरिन्थ्यो। सन् २०१३ मा सुधारवादी नेताका रुपमा राष्ट्रपति पदका लागि लड्ने उनको प्रयास एउटा शक्तिशाली परिषदले रोकेपछि उनले रुहानीलाई समर्थन गर्दै उनलाई अघि बढ्न सहयोग गरेका थिए। आगामी मे महिनामा पुन: राष्ट्रपति पदमा निर्वाचित हुने प्रयास गरिरहेका रुहानीका लागि उनको निधन ठूलो धक्का हुनसक्ने ठानिएको छ। सन् २०१५ मा विश्व शक्ति राष्ट्रहरुसँग इरानले गरेको परमाणु सम्बन्धी सम्झौताका समर्थक रहेका राफ्सन्जानीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानको इतिहासकै महत्वपूर्ण व्यक्ति भनी टिप्पणी गरेका छन्।

- बीबीसी रिपोर्ट
Powered by Blogger.