Header Ads

मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय कार्यालय उद्घाटन

 
काठमाडौं : मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रीय सभाको केन्द्रीय कार्यालय शनिबार (हिजो) संगठनका नवनियुक्त केन्द्रीय कार्यवाहक प्रेसिडेन्ट बुद्धलाल मेचेले उद्घाटन गर्नुभएको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको संगठनको केन्द्रीय कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कार्यवाहक प्रेसिडेन्ट मेचेले संगठनको पाँच क्रान्ति झल्कने ५ वटा मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।यस अघि सोही ठाउँबाट केन्द्रीय सभाको कामहरु भइरहेको भएतापनि औपचारिक रुपमा कार्यालयको उद्घाटन भएको थिएन । संगठनका वरिष्ट केन्द्रीय सदस्या दिलीप याङ्मा राईको सभापतित्व र कार्यवाहक प्रेसिडेन्ट बुद्धलाल मेचेको मुख्य आतिथ्य एवम् संगठनकै वरिष्ट केन्द्रीय सदस्यद्वय शान्तिलाल धिमाल र सूर्यकुमार गुरुङको विशेष आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मेचेले डा. गोपाल गुरुङको निधनले संगठनलाई थुप्रै चुनौति थपिएसँग संयमित भएर अगाडि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि मेचेले अगाडी भने –‘उहाँको निधनले संगठनलाई अपूर्ण क्षतिसँगै चुनौतिहरु थपिएको छ ।’
 
संगठनमा जुनसुकै तहमा रहेका नेता कार्यकर्ताहरु आफ्नो पदलाई भन्दा संगठनको कामलाई जोड दिनुपर्ने भन्दै भन्नुभयो –‘संगठनलाई बलियो र मजबुद पार्नका लागि गाउँ–गाउँमा संगठनको गतिविधिहरु बढाउँदै लैजानुपर्छ ।’उद्घाटन कार्यक्रमकै अवसरमा संगठनलाई विविध रुपमा सहयोग गर्ने तीन जनालाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा मलेशियामा रही एमएनओका प्रचार गरिरहेका पाँचथरका जीवी गुरुङ, काठमाडौंका बिरेन गुरुङ र सुवास तामाङ रहेका छन् । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धलाल मेचेले खदा ओढाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । 
 
कार्यक्रममा संगठनका केन्द्रीय सहसचिव सन्तोष तामाङ, प्रचार सचिव आङदावा शेर्पा, वरिष्ट केन्द्रीय सदस्यहरु शान्तिलाल धिमाल, सूर्यकुमार गुरुङ, केन्द्रीय सदस्य शक्ति चाम्लिङ, गोरखाका अध्यक्ष सोम गुरुङ, उदयपुर अध्यक्ष मोहन मगर, नुवाकोट अध्यक्ष लाक्पा तामाङ, रसुवा अध्यक्ष मेन लामा, सुर्खेत अध्यक्ष नरबहादुर दर्लामी मगर (वर्णबास), मंगोल म्युजिक फ्यामेली दोलखाका अरुणा थामी र जुना थामी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम सुरु हुन अघि दिवांगत हुनुभएका संगठनका संस्थापक प्रेसिडेन्ट युग पुरुष डा. गोपाल गुरुङको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । केन्द्रीय सदस्य रिन्छेन दोर्जे तामाङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव बीरलाल वालाहाङ राईले गर्नुभएको थियो ।

Powered by Blogger.