Header Ads

रहेनन् पाकिस्तानका ‘प्रख्यात परोपकारी’ अब्दुल सत्तार ईधी


कराची : पाकिस्तानका प्रख्यात परोपकारी अब्दुल सत्तार ईधीको ८८ वर्षिको उमेरमा कराचीस्थित अस्पतालमा निधन भएको छ। अति सम्मानित उनले ६० वर्षभन्दा लामो समयदेखि आफ्नो जीवन पाकिस्तानका गरिव र असहायलाई सघाउन समर्पित गरेका थिए। कयौंले राष्ट्रिय नायकको रुपमा हेर्ने गरेका ईधीले सीमित साधन श्रोतका माझ स्थापना गरेको संस्था अहिले देशकै सबैभन्दा ठूलो परोपकारी संस्था बन्न पुगेको छ। ईधी फाउण्डेशनले देशव्यापी रुपमा स्कूल अस्पताल र एम्बुलेन्स सेवाहरु संचालन गरिरहेको छ जसले सरकारबाट उपलब्ध गराइनु पर्ने सेवाको अभाव अक्सर जसो पुरा गरिरहेको छ।

उनको प्रतिवद्धता
उक्त संस्थाले अनाथालय पनि चलाइरहेको छ, जसले दशौं हजार बालबालीकालाई सहयोग पुर्याइरहेको ठानिएको छ। अपाङ्गता भएका र बृद्धबृद्धाहरुलाई उक्त संस्थाले सघाउन गरेको छ। पाकिस्तानमै जिउने र मर्ने दृढता जनाउने गरेका ईधीलाई पूर्वराष्ट्रपति असिफ अलि जर्दारीले विदेशमा उपचारको प्रस्ताव गरेका थिए तर उनले मानेनन्। कराचीस्थिति राष्ट्रिय रंगशालामा उनलाई अन्तिम श्रद्धाञ्जली दिन हजारौं मानिस भेला भएका थिए, त्यहाँ सेनाले सम्मान अर्पण गरेको थियो। त्यसपछि समाधिस्थ गर्न उनको पार्थिव शरीर ईधी गाउँ लगिएको छ। उनको निधनमा एक दिने शोकको घोषणा गर्दै सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने जनाएको छ।

प्रेमका अभिव्यक्ति
सामाजिक सञ्जालमा उनीप्रतिको सम्मान उर्लिएको देखिन्छ। कयौंले एकजना सन्तको रुपमा हेर्ने गरेका उनको निधनमा विभिन्न क्षेत्र, पेशा र व्यवसायका मानिसहरुले श्रद्धा अपर्ण गरेका छन्। प्रधानमन्त्री नवाज शरिफले दुख व्यक्त गर्दै 'स्वर्गको सबैभन्दा उत्तम स्थान प्राप्त होस' भनेर प्रार्थना गरेका छन्। शरिफले भने, “हामीले मानवताका महान सेवक गुमाएका छौं, उनी सामाजिक रुपमा कमजोर, गरिव, असहाय र अशक्तकानिम्ति प्रेमका सच्चा अभिव्यक्ति थिए।” नोबेल पुरस्कार विजेता मलाला युशुफजाईले बीबीसीसँग भनिन, “उनले अरुको खुशी र जीवनकोनिम्ति आफ्नो जीवन त्यागेका थिए। मैले अहिलेसम्म उनीजस्तो मानिस देखेकी छैन।”

विनयी

डन समाचार पत्रिकाले लेखेको छ, गुजरातको व्यापारी परिवारका ईधी सन् १९४७ मा पाकिस्तान पुगेको तर पक्षाघात भएकी आमालाई सहयोग गर्न राज्य कसरी विफल छ भन्ने देखेपछि उनले परोपकारको यात्रा थाल्ने निर्णय गरेका थिए। समयप्रतिको निष्ठा, कडा परिश्रम, इमान्दारी र सरलता आफ्नो कामको आधारशीला भएको उनले सन् २०१४ मा बीबीसीलाई बताएका थिए। उनी विनयी जीवनशैलीकानिम्ति पनि परिचित थिए। समाचार अनुसार उनीसँग दुईजोर कपडा थियो र कार्यालय छेउको सानो र न्युन सुविधा भएको कोठामा बस्थे। उनको मृगौलाले काम गर्न छाडेको सन् २०१३ मा पत्ता लागेको थियो।

Powered by Blogger.