Header Ads

सगरमाथाबाट करिब ३५ सय किलो फोहोर संकलन


बीबीसी रिपोर्ट
काठमांडौ : आरोहीहरुले नै निश्चित फोहोर संकलन गर्ने नियम लागू गरिएपछि विगतको दाँजोमा हाल सगरमाथा क्षेत्रको फोहोर घट्दै गएको त्यस क्षेत्रको प्रदुषण नियन्त्रणमा काम गरिरहेका अधिकारीहरुले बताएका छन्। यसपालिको आरोहण याममा झन्डै ३५ सय किलो फोहोर संकलन गरिएको र त्यसको व्यवस्थापनको अन्तिम चरणको काम भइरहेको बताइएको छ। यो वर्ष झन्डै साढे चार सयले सगरमाथा आरोहण गरेका थिए। सरकारले प्रत्येक आरोहीले ८ केजी फोहोर संकलन गरेर ल्याउनुपर्ने नियम बनाएको छ।

व्यवस्थापन
सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जे शेर्पाले संकलित फोहोर मध्ये १३ सय किलो फोहोर नष्ट गरिसकिएको र नष्ट गर्न नमिल्ने फोहोर काठमान्डू ल्याउने तयारीमा रहेको बताए। उनले भने,"हामीले फोहोर आधारशिविरबाट झारेर स्याङबोचे बिमानस्थलमा ल्याइसकेका छौं। तर मौसम अनुकुल नभएकोले हेलिकोप्टर चलेको छैन। हेलिकोप्टर चलेपछि हामी यसलाई फाप्लु भन्ने ठाँउमा झारेर त्यसपछि काठमान्डू पुर्याउछौं।" राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगबाट झन्डै दुई दशकदेखि शुरु गरिएको सगरमाथा सफाइ अभियानले प्रभावकारी रुप लिने क्रममा अहिले निकै कम मात्र फोहोर उच्च हिमाली क्षेत्रमा बाँकी रहने गरेको सरकारी अधिकारीहरु बताउँछन्।

सुधार
आरोहण स्विकृती लिनु अगाडि फोहोरका निम्ति धरौटी राख्नुपर्ने र प्रत्येक आरोहीले नै ८ केजी फोहोर अनिवार्य फिर्ता ल्याउनुपर्ने नियम कडाईका साथ लागू गरिएकोले पनि फोहोर संकलनमा सजिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन विभागका सगरमाथाको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, "अहिलेको नयाँ फोहोर त धेरै छैन। अक्सिजन बोटल प्राय आरोहीहरुले नै बोकेर ल्याउँछन्। त्यसकै लागि समेत सहयोगी राख्छन्। अरु अलि अलि सामान छोडिन्छ कि भन्ने हो। तर अहिले आठ किलो ल्याउनुपर्ने भएकोले पुरानो सामान समेत आउन थालेको छ।" अक्सिजनका सिलिन्डर, ब्याट्री, त्रिपाल, डोरी जस्ता नष्ट गर्न नमिल्ने र संकलनका लागि पनि निकै खर्च व्यहोर्नुपर्ने फोहोरलाई व्यवस्थापन गर्न कठिन मानिन्छ।

चुनौती
स्थानीय सचेतना र अन्तर्राष्ट्रिय स्तरबाट भएको सहयोगका कारण पछिल्लो समय भने धेरै नै फोहोर संकलन गरिए पनि निकै माथिल्लो उचाईमा रहेका क्याम्प टु र साउथ कोल जस्ता स्थानमा अझै निकै फोहोर बांकी रहेको बताइन्छ। त्यसलाइ पुष्टी गर्दै हिमालयन एडभेन्चर ट्रष्ट नेपालका अध्यक्ष भूमीलाल लामाले भने, “पर्वातारोहीका दिसापिसाब, ज्यान गुमाएका आरोहीका शबलगायतका कारण माथि बढी प्रदुषण भइरहेको छ।” प्रदुषण रोक्न सगरमाथालाई ‘केही समय आराम दिनुपर्ने’ प्रथम आरोही एडमन्ड हिलारीले बताएको सम्झँदै लामाले सरकारले अवधि तोकेर फोहोर जम्मा गर्ने जिम्मेवारी सहितको पर्वतारोहीको टोलीलाई आरोहणमा खटाउनुपर्ने सुझाव दिएका छन्।
Powered by Blogger.