Header Ads

इयु बहिर्गमन निर्णयपछि क्यामरनले पद त्याग्ने


लंदन। ब्रिटेन इयुमै रहिरहनु पर्छ भन्ने पक्षमा निरन्तर चुनावी प्रचार अभियानमा सामेल ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले आफ्नो पक्षको पराजय भएपछि अब आगामी तीन महिनाभित्र पद त्याग गर्ने बताएका छन्। जनमत संग्रहको क्रममा झण्डै ५२ प्रतिशत मतदाताले ब्रिटेन युरोपेली संघबाट अलग्गिनु पर्ने पक्षमा मत दिएपछि उत्पन्न अनिश्चयपूर्ण समयमा केही स्थिरता दिन उनले केही समयपछि मात्र पद त्याग्ने बताएका हुन्। डाउनींग स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय अगाडी सञ्चारकर्मीहरुलाई सम्बोधन गर्दै उनले आफु अझै ब्रिटेन इयुभित्रै बलियो सुरक्षित तथा सम्पन्न रहिरहनेमा विश्वस्त रहेको बताए। उनले भने, “इयुभित्रै रहँदा ब्रिटेन बढी बलियो, बढी सुरक्षित तथा बढी सम्पन्न हुनेछ भन्ने मान्यतामा म एकदमै प्रष्ट थिएं। यही विषयमा मात्रै जनमत संग्रह भएको भन्नेबारे पनि मैले प्रष्ट पारेको थिएं, नकि म लगायत कुनै राजनीतिकर्मीको भविष्य दाउमा परेको थियो। तैपनि ब्रिटिश जनताले फरक बाटो रोज्ने स्पष्ट निर्णय लिएका छन्। त्यसैले मलाई लाग्छ उक्त दिशामा देशलाई अघि बढाउन हामीलाई ताजा नेतृत्वको आवश्यकता छ।”

बहिर्गमन
उनले जनमत संग्रहमा इयु मै रहने पक्षमा मतदान गर्न नत्र देशले गम्भीर आर्थिक तथा सुरक्षा समस्या बेहोर्नुपर्छ भन्दै आएका थिए। परिणाम पश्चात चाहीं उनले अब ब्रिटिश जनताको बहुमतको निर्णय कार्यान्वयनमा सघाउने बताएका छन्। ब्रिटेन सन् १९७३ मा इयुमा सामेल भएको हो। जनमत संग्रहको परिणामसँगै युरोपेली संघ गठन भएयता उसको सदस्यता त्याग्ने ब्रिटेन पहिलो राष्ट्र बन्ने भएको छ। २८ वटा राष्ट्र सम्मिलित युरोपेली संघबाट उसको बहिर्गमन तत्कालै भने हुने छैन। उसले बहिर्गमनका विस्तृत शर्तहरुबारे इयुसंग समझदारी गर्नुपर्नेछ। सन् २००९ मा लागु भएको लिस्बन सन्धीको धारा ५० मा भएको व्यवस्था अनुसार दुई वर्ष अवधि उपलब्ध गराइएको सदस्यता फिर्तीसम्बन्धी प्रावधान कहिलेबाट सकृय तुल्याउने भन्ने निर्णय पनि ब्रिटेनले गर्नुपर्नेछ।

उथलपुथल
संयुक्त अधिराज्यले बहुमतद्वारा युरोपेली संघ छाड्ने निर्णय गरेपछि विश्व बजारमा उथलपुथल देखिएको छ। अमेरिकाको वाल स्ट्रिटमा शेयर मूल्य निकै घटेका छन्।
Powered by Blogger.