Header Ads

प्रख्यात बलिउड निर्देशक शिरीष कुन्दरद्वारा ‘बब’ नामक नेपाली शॉर्ट फिल्मको चोरी


काठमांडू / मुंबई : नेपाली फिल्महरूले ‘बलिउडबाट चोरिएको’ आरोप खेप्न छाडेको छैन। तर, पाँच दिनअघि (जुन २२) युट्युबमा सार्वजनिक ‘कृति’ नामक हिन्दी सर्ट फिल्म नेपालीबाट चोरिएको खुलेको छ। बलिउडका निर्माता–निर्देशक शिरीष कुन्दरले निर्देशन गरेको १८ मिनेट लामो यो फिल्म ‘बब’ नामक नेपाली सर्ट फिल्मबाट चोरिएको हो। ‘सिजोफ्रेनिया’ रोग लागेको पात्र र उनकी प्रेमिकाको कथामा आधारित १३ मिनेट लामो नेपाली फिल्म ‘बब’ का निर्देशक २४ वर्षीय अनिल न्यौपाने हुन्। यो उनको पहिलो फिल्म हो। चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानका पति शिरीष ‘जानेमान’ र ‘जोकर’ का निर्देशक हुन्। उनले ‘जोकर’ र ‘तीस मार खाँ’ को निर्माण पनि गरेका छन्। बलिउडमा पहिचान बनाइसकेका शिरीषले बनाएको ‘कृति’ सँग ‘बब’ को कथा र विषयवस्तु मात्र मिल्दैन, यसका अधिकांश दृश्य र कतिपय संवाद पनि उस्तै छन्। दुवै फिल्मको सुरुआत नै एकै किसिमबाट हुन्छ। जसरी ‘बब’ शीर्षक एउटा पात्रको नामबाट राखिएको छ, ‘कृति’ मा पनि त्यही गरिएको छ।

पात्रहरूका क्रियाकलापदेखि कतिपय दृश्यमा क्यामराको एंगलसम्म एउटै छ। कृतिले क्लाइमेक्समा मात्र घटना अलिकति लम्ब्याएर छुट्टै अनुभूति गराउन खोजेको छ। सन् २०१५ अक्टोबरमा अनिलले बबको सुटिङ सकेका थिए। त्यही वर्ष नोभेम्बर ८ मा उनले ‘भिमियो’ नामक भिडियो वेबसाइटमा आफ्नो फिल्म अपलोड गरे। झन्डै ३० जना साथीहरूलाई प्रतिक्रियाको निम्ति फिल्मको लिंक पनि पठाए। युट्युबमा भने २०१६ मे १२ मा सार्वजनिक गरिएको थियो। यो फिल्म रिलिज भएको लगभग एक महिनापछि कृति सार्वजनिक भयो। कृति सार्वजनिक भएको भोलिपल्ट बिहानै नेहा शाक्य भन्ने एक अपरिचितले निर्देशक अनिलको फेसबुकमा कृतिको युट्युब लिंकसहित लेखिन्, ‘मैले यो फिल्म कतै हेरिसकेको छु।’

चिन्दै नचिनेको मान्छेले के भन्न खोजेको हो, सुरुमा त अनिलले बुझ्दै बुझेनन्। च्याटबक्समा आएको लिंकमा मनोज बाजपेयी, राधिका आप्टे, नेहा शर्माजस्ता बलिउडका कलाकार देखेपछि उनले लिंक खोले। यीमध्ये मनोज र नेहाको अभिनय अनिललाई राम्रो लाग्थ्यो। ‘ल्यापटप बोकेर बाथरुम गएँ,’ अनिलले सोमबार सेतोपाटीसँग भने, ‘फिल्म हेर्नेबित्तिकै मलाई त चिसो भयो, बब र कृतिको ओपनिङ नै उस्तै रै’छ।’ जब अनिलले पूरै फिल्म हेरे, उनका आँखामा आफ्नै फिल्म बब नाच्न थाले। कथा मात्र होइन, दृश्यहरू पनि उस्तै पाए। उनलाई सुरुमा त लाग्यो, कतै सपनामा त छैन? उनलाई आफ्नै विश्वास नलागेपछि साथीहरूलाई लिंक पठाएर तुरुन्त हेर्न अनुरोध गरे। साथीहरूले पनि भने, ‘सेम छ त यार!’ त्यस दिन उनी रनभुल्लमा परे। ‘यसअघि यस्तो कुरा नेपालमा नसुनेकाले के गर्ने भन्ने आइडिया पनि थिएन,’ उनले भने, ‘हुन त यस्तो धोका मैले नेपाली मिडियाकै एक व्यक्तिबाट पाइसकेको थिएँ। त्यतिबेला व्यक्तिगत समस्यालाई के ठूलो मुद्दा बनाउनु जस्तो लागेर केही गरिनँ। तर, बब फिल्म मेरो मात्र होइन, भोकभोकै, निद्रामा काम गर्ने हामी, जस पाउने ऊ भन्ने लाग्यो र भोलिपल्ट फेसबुकमा लेखेँ।’


अनिलले फेसबुकमा लेखेपछि भारतीय मिडियाले चोरीको समाचार छाप्यो। उता, शिरीष कुन्दरले भने अनिललाई ट्विटरमा ब्लक नै गरिदिए। ठिक यही बेला आयरल्यान्डबाट एक गायकले म्युजिक भिडियो बनाउने प्रस्ताव गरेछन्। उनले आफ्नै जीवनमाथि एउटा डकुमेन्ट्री बनाएका थिए, जसको पृष्ठभूमिमा ती गायकको गीत छ। उनले उक्त डकुमेन्ट्री र फिल्म बब हेरेपछि म्युजिक भिडियो बनाउने प्रस्ताव गरेका रहेछन्। ‘एउटा फुच्चेले बलिउडको त्यत्रो मान्छेलाई चोर दोष लगाइरहेछ?’ अनिल सुनाउँछन्, ‘झन् उताबाट अर्को अफर आउँछ। म त सपनामै छुजस्तो लाग्छ बेलाबेला।’

अनिललाई फोटोग्राफीमा रुचि थियो। एसएलसी सकेपछि उनले साथीहरुको क्यामराबाट फोटोग्राफी सिकेका थिए। पढाइमा तिक्ष्ण अनिलले प्लस टुपछि चार्टर्ड एकाउन्टेन्ट पढ्नुपर्ने भयो। जुन उनको रुचिको विषय थिएन। आमाले क्यामरा किनिदिन्छु भनेपछि त्यही लोभले सिए पढ्ने स्वीकृति जनाए र दिल्ली गए। उनको ध्यान सिएतिर भन्दा फोटोग्राफीमा थियो। दिल्ली बस्दा केही फोटोग्राफरसँग चिनजान गरे। पढाइ थालेको दुई वर्ष नपुग्दै एक जना दाइ पर्नेले फोटोग्राफी स्टुडियोमा काम गर्ने प्रस्ताव ल्याएपछि उनले सिए हापिदिए। स्टुडियोमा काम गर्ने क्रममा जाल काओसी नामका एक भारतीयसँग भेट भयो। जसले अमेरिकामा फिल्म पढेर आएका थिए। काओसीले बनाएको विज्ञापनमा अनिलले सहायकको काम पाए। काओसीको कामले अनिल अत्यन्तै प्रभावित भए। स्टुडियोमा दुई वर्ष काम गर्दा काओसीसँग उनले ६ महिना सँगै बिताए। काओसीबाटै उनले फिल्मका धेरै कुरा सिके।

फोटोग्राफीमा अनिलको दख्खल बढ्दै थियो। यथार्थभन्दा काल्पनिक कथामा बढी रमाउने अनिलले ‘मिनिएचर फोटोग्राफी’ जानेका थिए। मिनिएचर फोटोग्राफी यस्तो हो, जसमा यथार्थ तस्बिरमा फोटोसपको सहायताले काल्पनिक कथा भरिन्छ। यस्तो तस्बिरले यथार्थजस्तै लाग्ने भ्रम सिर्जना गर्छ।  अनिलले यस्तै राम्रा तस्बिरहरू तयार पारेर ‘बोर्डपान्डाडटकम’ मा राखेका थिए, जसलाई पछि अन्तर्राष्ट्रिय अनलाइन सञ्चारमाध्यमले साभार गरेका थिए। त्यही बेला उनमा फिल्म बनाउने भूत सवार हुन थाल्यो। सिए पनि नसकी फर्किंदा आफन्तहरु ‘के गर्छस् अब’ भनेर सोध्थे। उनी गफ दिन्थे, फिल्म बनाउँदैछु। अझ बाबुसँग त सिए छोडेका कारण बोलचालै पातलो भएको थियो। आमा पनि रिसाएकी थिइन्। साथीहरू भने फिल्म बनाउन उकासिरहन्थे। तत्कालका लागि त्यो गफ भए पनि उनी गम्भीर नै थिए। फिल्म बनाउनुअघि केही म्युजिक भिडियो निर्देशन गरे। तर, उनको दिमागमा फिल्म मात्रै घुमिरहन्थ्यो। भन्छन्, ‘बनाउन त फिचर फिल्म नै बनाउने हो, तर सर्ट फिल्मबाट काम सुरु गर्नुपर्छ भन्ने थियो।’

उनलाई मूलतः दुईखाले फिल्मले प्रभाव पारेका थिए। एउटा थियो, ‘टाइम ट्राभल’ वर्गका फिल्म र अर्को ‘सिजोफ्रेनिया’ रोगले ग्रसित पात्रको कथा भन्ने फिल्म। यस्ता फिल्म उनी सकेसम्म नछुटाई हेर्थे। ‘मलाई सिजोफ्रेनिया भन्ने साह्रै रहस्यमयी लाग्छ,’ उनी भन्छन्, ‘हुँदै नभएको चिज देख्नु भनेको चानचुने कुरा होइन। म आफैंलाई पनि कहिलेकाहीँ यथार्थका कुरा कल्पनाजस्तो र कल्पनाका कुरा यथार्थजस्तो लाग्छ।’ एकदिन उनको दिमागमा फ्याट्ट एउटा विषयवस्तु आयो, सिजोफ्रेनिया लागेको एउटा पात्रले आफ्नी प्रेमिकाको हत्या गर्छ। किनकि, ऊ यथार्थ होइन, नायकको कल्पनाको पात्र हो। काल्पनिक पात्रको पछ्याइबाट मुक्त हुन उसले त्यसको हत्या गर्नैपर्ने हुन्छ। तर, कल्पनाको भन्ठानेको त्यो पात्र साँच्चैको भइदिए?

उनले यो आइडिया साथीहरूलाई सुनाए। सबैले मन पराए। त्यसपछि फिल्मको कथा बनाउने सिलसिलामा अर्को जुक्ति फुर्यो, सिजोफ्रेनिया रोग लागेको त्यो पात्रलाई हत्या गर्न उक्साउनेमा अर्को पात्र थपे। को हो त्यो पात्र? त्यसले कसरी हत्या गर्न उक्सायो? यसका लागि फिल्म नै हेर्नुपर्ने हुन्छ। शिरीष कुन्दर निर्देशित ‘कृति’ फिल्मको कथावस्तु पनि ठ्याक्कै यस्तै छ। अन्तिम पाँच मिनेट मात्र कथालाई अलि फरक मोड दिइएको छ। फिल्म बनाउने रुचि भए पनि अनिललाई यससम्बन्धी प्राविधिक ज्ञान थिएन। विषयवस्तु तयार भएपछि उनले पटकथा लेख्न इन्टरनेटको सहयोग लिए। पूरै फिल्म कापीमा स्केच गरे। उनले सोचे, साथीको घरमा सुटिङ गर्ने, क्यामरा आफ्नै चलाउने, सम्पादन आफैं गर्ने। यसो गर्दा, दस हजार रुपैयाँमै काम सकिन्छ।

विस्तारै उनमा कथाप्रतिको मोह बढ्दै गयो। सम्झौता गरेर बनाउँदा राम्रो फिल्म बन्न नसक्ने ठानेपछि उनले ठूलै क्यामरा, अलि भव्य सेटमा सुटिङ गर्ने विचार आयो। उनको सोचमा त ‘रेड क्यामरा’ नै प्रयोग गर्ने भन्ने थियो। प्रतिदिन भाडा २५ हजार रुपैयाँ सुनेपछि उनी तर्सिए। ‘ब्ल्याक म्याजिक’ क्यामराले सुटिङ गर्दा सिकारुलाई गाह्रो हुन्छ, तैपनि राम्रो आउने भएपछि जोखिम मोले। सबै चिजमा बजेट छुट्याउँदै जाँदा खर्च निस्कियो, ८० हजार। साथीसँग र सहकारीबाट ऋण लिँदा ५० हजार जम्मा भएको थियो। तीस हजारभन्दा बढी लाग्ने भएपछि उनमा आँट हरायो। साथीहरूले आफूसँग भएको सामान ल्याउने, बाँकी किन्ने योजनामा तीस हजार खर्च घटाएछन्। कसैले पारिश्रमिक नलिँदा पनि खाना–खर्चका लागि पैसा पुगेन। उनीहरूले आफ्नै खल्तीबाट तिर्ने सर्तमा फिल्म बनाउने काम सुरु भयो।

फिल्मको कुनै पनि कोर्स नलिएका अनिलले जे–जति जानेका थिए, जाल काओसीले सिकाएको र इन्टरनेटमा पढेको भरमा जानेका थिए। फिल्म बनाइरहँदा भने उनलाई फिल्मको कोर्स लिनैपर्ने रहेछ भन्ने महसुस भयो। भन्छन्, ‘मेरो परिवारसँग मलाई फिल्म पढाउन पुग्ने पैसा छैन।’ अनिलका बाबु यातायात व्यवस्था विभागमा सुरक्षा गार्डको काम गर्थे भने आमा लगनखेलमा फुटपाथमा कपडा बेच्थिन्। ‘ममीसँगै फुटपाथमा हुर्केको म,’ अनिल बाल्यकाल सम्झन्छन्, ‘हातमा कपडा झुन्ड्याउँदै म ममीलाई व्यापारमा सघाउँथेँ।’ अहिले अनिलकी आमा सटरमै कपडाको व्यापार गर्छिन् भने उनका बाबु उही कार्यालयमा कार्यालय सहयोगीका रुपमा काम गर्छन्। पैसा तिरेर फिल्म पढ्न सक्ने हैसियतको नभएपछि सर्ट फिल्म बनाउँदै जाने र कुनै दिन विदेशका कलेजमा छात्रवृत्तिका लागि आवेदन दिने उनको सोच थियो। छात्रवृत्तिकै अभ्यासस्वरुप उनलाई फिल्म बनाउनु थियो। त्यसकै उपज थियो, ‘बब’।

बब त उनले जसोतसो तयार पारे, तर देखाउने कहाँ? नेपालका फिल्म महोत्सवमध्ये ‘एकादेशमा’ र ‘किम्फ’ चर्चित मानिन्छन्। किम्फमा प्रदर्शन गर्न अर्को एक वर्ष कुर्नुपर्ने र एकादेशमा कहिले हुने टुंगो नलागेपछि उनले भिमियोबाट सार्वजनिक गरिदिए। पछि युट्युबबाट पनि सार्वजनिक गरे। फिल्म चोरिएपछि अनिल खुसी र दुःखी दुवै छन्।  खुसी हुनुको पहिलो कारण, नेहा शर्मा र मनोज वाजपेयी उनलाई मन पर्ने कलाकार हुन्। ‘फिल्म हेरिरहँदा मलाई लाग्यो मेरो कथामा उनीहरू अभिनय गरिरहेका छन्,’ उनले भने। दोस्रो कारण, अहिले सबैले सहयोग गर्छु भनेका छन्। ‘मैले पछि मुद्दा हारेँ नै भने पनि फिल्म बनाउने बेला कसैले विश्वास गर्छन् कि भन्ने आस छ,’ उनले भने, ‘ममी पनि खुसी हुनुभएको छ। बुबासँग भेट भएको छैन। अरूसँग भन्नुभएको छ रे, राम्रो बनाएपछि त चोरिहाल्छन् नि।’

खुसी–दुःखको कुरा जेसुकै हुन्, अनिल चुप बस्नेवाला छैनन्। यसबीच शिरीष कुन्दरले फेसबुकमा ‘बब’ फिल्मको नामै नलिई त्यो रिलिज हुनुअघि नै कृतिको कथा लेखिसकिएको भन्दै आफ्नो बचाउ गरेका छन्। 'फिल्म हेर्नेबित्तिकै चोरेको हो कि हैन छर्लंग भइहाल्छ,' अनिलले भने, ‘शिरीषले स्वीकारुन्न/स्वीकारुन्, म प्रतिलिपि अधिकार र क्षतिपूर्तिको मुद्दा दिने सोचमा छु।’


Powered by Blogger.