Header Ads

चार्टर्ड विमानले शव तथा घाइते ल्याउन विमान पठाउने तयारी


बीबीसी नेपाली
काठमांडू :
नेपाल सरकारले अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम हमलामा ज्यान गुमाएका १२ जना नेपालीको शव ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान अफगानिस्तान पठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले सो विमानले मृतकका शवका अतिरिक्त घर फर्कन इच्छुक घाइते र अफगानिस्तानमा रहेका नेपालीहरुलाई पनि काठमाण्डू ल्याउने जनाएको छ। त्यसको लागि थालिएका कागजी प्रक्रिया सकिने बित्तिकै विमान काबुलतर्फ उड्ने बताइएको छ। काबुलमा आत्मघाती हमलामा ज्यान गुमाएका १२ जना नेपालीको शवको मेडिकल परीक्षण सकिएलगत्तै नेपाल वायुसेवा निगमको चार्टर्ड विमान काबुलतर्फ उडाउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए।

घर फर्किन इच्छुक घाइते र अन्य नेपालीलाई पनि ल्याउने व्यवस्था
“मृतकको शवको फोरेन्सिक परीक्षण रिपोर्ट र उडान अनुमति लिने प्रक्रिया थालिएको छ। यो प्रक्रिया जति छिटो सकिन्छ, त्यति छिटो हामी जहाज उडाउने अवस्थामा बसेका छौं।” उनका अनुसार मंगलबार काबुल पुगेका नेपाली कूटनीतिक अधिकारीले अफगानी अधिकारी तथा मृतक नेपालीका रोजगारदाता कम्पनीका प्रतिनिधिलाई भेटेर आवश्यक तयारी गरिरहेका छन्। चार्टर्ड विमानले काबुलबाट घर फर्किन इच्छुक घाइते र अन्य नेपालीलाई पनि ल्याउने व्यवस्था मिलाइएको पौड्यालले बताए। “नेपाल आउन इच्छुक घाइते तथा अफगानिस्तानमा रहेका अन्य नेपालीहरुलाई पनि उहाँहरुले इच्छा देखाएमा चार्टर्ड विमानबाटै ल्याउने भन्ने निर्णय भएको छ।” उनका अनुसार सोमबारको आत्मघाती बम हमलामा घाइते भएका सात नेपाली मध्ये दुई जनालाई मंगलबार काबुलबाट भारतको दिल्लीस्थित एपोलो अस्पताल पठाइएको छ। थप तीन जना घाइतेलाई बुधबार दिल्ली पठाउने तयारी भइरहेको पौड्यालको भनाइ छ।

मृतकको शवलाई परिवारजनलाई बुझाउने
चार्टड विमान काबुलबाट फर्किएपछि मृतकको शवलाई गृह मन्त्रालयले परिवारजनलाई बुझाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल सरकारको वैदेशिक रोजगार विभागका अनुसार अफगानिस्तानमा हाल वैधानिक रुपमा करीब छ सय नेपालीलाई त्यहाँका राष्ट्रसंघ सम्बद्ध निकायमा काम गर्न स्वीकृति दिइएको छ। विभागकी निर्देशक रमा भट्टराईका अनुसार नेपाल सरकारले करीब एक दशक अघि अभिलेख राख्न सुरु गरेयता करीब ३२ सय नेपालीले अफगानिस्तानमा राष्ट्रसंघीय निकायहरुमा काम गर्ने अनुमति पाएका छन्। तर जानकारहरु भन्छन्, भारत र विभिन्न खाडी मुलुकको घुमाउरो बाटो हुँदै अवैध रुपमा हजारौं नेपाली युवाहरु खासगरी सुरक्षा गार्डको रुपमा काम गर्न नाजुक सुरक्षा स्थिति हुँदाहुँदै पनि अफगानिस्तान पुगेका छन्।


Powered by Blogger.