Header Ads

रुसमाथिको प्रतिबन्धप्रति आइओसीको समर्थन


अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले रुसी खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिन लगाइएको प्रतिबन्ध कायमै राख्ने पछिल्लो निर्णयलाई समर्थन गरेको छ। एथ्लेटिक्सको विश्व प्रशासकीय निकाय आइएएएफले त्यस्तो निर्णय गरेपछि रुसले त्यसमा हस्तक्षेप गर्न आइओसी लगायतका निकायलाई आग्रह गरेको थियो। तरु आइओसीले भनेको छ, उसको निर्णय लुकिछिपि प्रतिबन्धित औषधि प्रयोग गर्ने खेलाडी विरुद्ध अपनाइएको शुन्य सहनशीलताको नीति अनुरुप छ। अब रुसी खेलाडीको सहभागिता विना नै रिओ ओलम्पिक सञ्चालन हुने लगभग पक्का भएको छ जुन कुरा रुसी खेलकुद मन्त्रीले समेत स्वीकार गरेका छन्।

समर्थन
खेलकुदमा प्रतिबन्धित औषधि प्रयोग विरुद्धको निकाय वर्ल्ड एन्टी डोपिङ एजेन्सीको प्रतिवेदनपछि एथ्लेटिक्सको विश्व प्रशासकीय निकाय आइएएएफले रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध कायमै राख्ने निर्णय शनिबार गरेको थियो। त्यो निर्णयमा हस्तक्षेप गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइओसी लगायतका निकायलाई आग्रह गरेका थिए। तर आइओसी पनि रुसी आग्रहप्रति नरम भएजस्तो देखिएन। उसले कुनै खेलाडीले खेल्न पाउने वा नपाउने भन्ने टुंगो लगाउने अधिकार सम्बन्धित खेलकै विश्व प्रशासकीय निकायसंग रहेको वक्त्वयमार्फत जनाएको छ। आइओसीका उपाध्यक्ष जोन कोट्सले भने, “अन्तर्राष्ट्रिय परिषदसँग राष्ट्रिय खेल निकायलाई निलम्बन गर्ने अधिकार हुन्छ, मलाई लाग्दैन हामी त्यसलाई कुनै कारणले उल्ट्याउनेछौँ।”

निराशा
मंगलबार आइओसीको बैठक हुंदा प्रतिबन्ध फुकुवा हुने रुसी अपेक्षा उसको पछिल्लो वक्तव्यले निराशामा बदिलिदिएको देखिन्छ। अब ट्रयाक एण्ड फिल्ड अर्थात दौडने, उफ्रने र कुनै वस्तु फ्याक्ने प्रक्रियासंग सम्बन्धित खेलका रुसी टोलीले आसन्न रिओ ओलम्पिक्समा भाग लिन नपाउने निश्चित भएजस्तै देखिन्छ।उक्त विषय रुसका खेलकुद मन्त्रीले पनि स्वीकार गरेजस्तो देखिन्छ। व्यक्तिगत रुपमा रुसी खेलाडीलाई सहभागी हुन भने बञ्चित नगरिने बताइएको छ। तर रुस तथा रुसी खेलाडीबाट त्यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन।

Powered by Blogger.