Header Ads

दार्जीलिङबाट नेपाल आए र छाए ! पारिजात देखि अनुराधा सम्म


दार्जीलिंग डायरी
विगतमा दार्जीलिङ नेपालकै भूगोलभित्र थियो । सन् १८१६ मा नेपाल र ब्रिटिश इन्डियाबीच भएको सुगौली सन्धिबाट भूगोलको त्यो हिस्सा नेपालले औपचारिकरुपमा गुमायो र त्यहाँ बस्ने नेपालीहरु रातारात परदेशी भए । सीमांकनले उता परे पनि भावनात्मक रुपमा दार्जीलिङ नेपालसँग उत्तिकै आत्मीय छ । थुप्रै दार्जीलिङवासी नेपालीले नेपाललाई आफ्नो कर्मथलो बनाए । यहाँ आएर विभिन्न क्षेत्रमा योगदान दिए । उनीहरु यति छ्यासमिस भएर रहेका छन् कि नेपाली होइनन् भन्ने कुनै संकेत भेटिँदैन । यहाँ केही तिनै दार्जीलिङवासीका प्रतिभाको चर्चा गरिएको छ, जसले नेपालमा आएर विभिन्न क्षेत्रमा योगदान दिए र दिइरहेका छन् । यहाँ दार्जीलिङ शब्दले नेपालीभाषीको वाहुल्य रहेका भारतीय भूभागलाई जनाउन खोजिएको छ ।

गोपाल योञ्जन (संगीतकार) 
नेपालका सर्वकालीन महान संगीतकारको सुचीमा आउँछन् गोपाल योञ्जन । उनको जन्म सन् १९४३ मा दार्जीलिङमा भएको हो । संगीतकार, गीतकार र गायकका रुपमा करिब तीन दशक उनी नेपाली संगीत क्षेत्रमा क्रियाशील रहे । एउटा वाद्यवाधकका रुपमा योञ्जनले आफ्नो सांगीतिक जीवन सुरु गरेका थिए । नेपाल आएपछि स्वरसम्राट नारायण गोपालसँग उनको दोस्ती जम्यो । उनीहरुले मित पनि लाए । योञ्जनको संगीतमा नारायण गोपालले गाएका चर्चित गीतहरुमा बिर्सेर फेरि मलाई नहेर, चिनारी हाम्रा धेरै पुरानो, तिम्रो जस्तो मुटु मेरो मेरो पनि, लौ सुन म भन्छु मेरो प्रेम कहानी लगायत छन् । योञ्जनले थुप्रै नेपाली चलचित्रमा समेत संगीत भरेका छन् । बि्रटिश इन्डिया अन्तगतको दार्जीलिङस्थित बंगाल प्रेसिडेन्सीमा गोपालको जन्म एक तामाङ परिवारमा भएको थियो । उनले वाध्यवाधकका रुपमा सन् १९६७ मा दार्जीलिङ आर्ट एकेडेमीमा आवद्ध भए । नेपाली भाषामा बीए अध्ययन गर्नका लागि उनी सन् १९६७ मा दार्जीलिङबाट नेपालमा आएका थिए । उनको मृत्यू जण्डिसका कारण सन् १९९७ मा भारतका दिल्लीमा भयो । उनका एक छोरी र दुई छोरा छन् ।

पारिजात (साहित्यकार) 

नेपाली साहित्य आकाशमा सबैभन्दा ठूलो नामका रुपमा लिइन्छ पारिजातउर्फ विष्णुकुमारी वाइबालाई । उनले लेखेको शिरीषको फुल उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । पारिजातको जन्म दार्जीलिङको एक चिया कमानमा बि.सं. १९९४ सालमा भएको थियो । उनको पिता के.एन. वाईबा एक चिकित्सक थिए । उनको न्वारनको नाम विष्णुकुमारी वाईबा थियो । प्रारम्भिक पढाई दार्जिलिङमै हासिल गरी २०११ सालमा काठमाडौँ भित्रिएकी पारिजातले पद्मकन्या विद्याश्रमबाट एसएलसी र पदमकन्या कलेजबाट बीएसम्मको पढाइ हासिल गरिन् । बाल्यावस्थामै आमाको मृत्यु भएकाले मात्रिस्नेह कस्तो हुन्छ भन्ने कुरा उनले अनुभवसम्म गर्न पाइनन् । त्यसपछि आफ्नो एकमात्र दाजुको वियोगको पीडा पनि खप्नुपर्‍यो । बि.सं. २०२९ मा पिताको देहावसान भएपछि उनले पितृ स्नेहबाट पनि बन्चित हुनुपर्‍यो । बि.सं.. २०१३ मा ‘धरती’ पत्रिकामा कविता प्रकाशन गरी उनले आˆनो साहित्ययात्रा सुरु गरेकी थिइन् । वि.सं. २०२३ सालमा तत्कालीन राजनीतिक व्यवस्थाविरुद्ध केही सङ्गीतकार र लेखक कविहरूले एउटा समूहको निर्माण गरेका थिए, राल्फा । यस समूहको केन्ऽविन्दुका रूपमा पारिजात रहिन् । पछि यही राल्फाली यात्रा नै नयाँ जनवादी संस्कृति र प्रगतिशील लेखनफाँट परिणत हुन पुगेको हो । 

पारिजातले वि.सं. २०३४ सालमा नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशनको सदस्यता लिएकी थिइन् । अखिल नेपाल महिला संघको अध्यक्ष बनी उनी भूमिगत कार्यमा पनि सक्रिय भइन् । पारिजात वि.सं. २०३५-२०३६ सालको आन्दोलनमा ज्यादै सक्रिय भइन् । वि.सं. २०३६ सालमा प्रगतिशील लेखक कलाकार संघको स्थापनाको लागि पनि उनको सक्रिय भूमिका रहृयो । उनले मदन पुरस्कार ,गम्की पुरस्कार र पाण्डुलिपि पुरस्कार पाइन् । उनको पुस्तक ‘शिरिषको फूल’ को अंग्रेजी अनुवाद ब्लु मिमोसालाई अमेरिकाको मेरिल्याण्ड युनिभर्सिटीको पाठ्यक्रममा पनि राखियो । पारिजातका प्रकाशित कृतिहरुमा आकांक्षा (कविता संग्रह), महत्वाहीन (उपान्यास), आदिम देश -कथासंग्रह), बैंसको मान्छे (उपन्यास), तोरीबारी, बाटा र सपनाहरु (उपान्यास) सडक र प्रतिभा (कथासंग्रह), अन्तरमुखी (उपन्यास), पर्खालभित्र र पर्खालबाहिर (उपन्यास), अनिदो पहाडसँगै (उपन्यास), साल्गमीको बलात्कृत आँशु (कथासंग्रह) धुपी, सल्ला र लालीगुराँसको फेदमा (संस्मरण) एउटा चित्रमय सुरुवात (संस्मरण), आधीआकाश (लेखहरु) वैशाख वर्तमान (कविता संग्रह) आदि छन् । वि. सं. २०५० साल वैशाख ५ गते उनको वीर अस्पतालमा निधन भयो ।

इन्द्रबहादुर राई (साहित्यकार)

वि. सं. १९८४ मा जन्मेका इन्द्रबहादुर राई नेपाली मूलका दार्जीर्लि निवासी साहित्यकार हुन् । उनले नेपाली साहित्य र भाषामा ठूलो योगदान दिएका छन् । दार्जीलिङको खर्साङस्थित बालासन खोलाको बगरमा उनको जन्म भएकोउ थियो । अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेपछि उनी प्राध्यापनमा लागे । उनको पहिलो सग्रहका रूपमा ‘विपना कतिपय’ सन् १९६१ मा प्रकाशित भयो । उपन्यास चाहिँ सन् १९६४ मा ‘आज रमिता छ’ प्रकाशित भयो । ८४ वर्षीय साहित्यकार राई कथा, उपन्यास, समालोचना, निबन्ध र सम्पादनमा अझै पनि निरन्तर साधना गरिरहेका छन् । नेपालको साहित्यमा पुर्‍याएको योगदानका लागि वि. सं. २०५१ सालको जगदम्बाश्री पुरस्कार उनलाई प्रदान गरिएको थियो ।

तुलसी घिमिरे (चलचित्रकर्मी)
नेपाली चलचित्रमा इतिहासदेखि अहिलेसम्म अत्यन्तै सम्मानका साथ लिइने नाम हो तुलसी घिमिरे । डेढ दर्जनभन्दा बढि नेपाली चलचित्र निर्देशन गरेका ६४ वषिर्य घिमिरे कालिङपोङ निवासी हुन् । घिमिरेले निर्देशन गरेका लाहुरे, कुसुमेरुमाल, चिनो, दक्षिणा, बलिदान, दर्पणछायाँ जस्ता चलचित्रहरु नेपाली दर्शकमाझ सदा स्मरणीय छन् । उनी निर्देशक मात्र नभएर लेखक, गीतकार, सम्पादक र कलाकार समेत हुन् । घिमिरेले निर्देशन गरेको टेलिसिरयल मुक्तीपनि निकैए चर्चित बनेको थियो । घिमिरेकी पत्नी भारती गजमेरले पनि नेपाली कलायात्रामा श्रीमानलाई साथ दिदै आएकी छिन् । पछिल्लो समय भने नेपाली चलचित्रमा घिमिरेको सक्रियता घटेको छ । यद्यपि आज पर्यन्त सार्थक नेपाली चलचित्रहरुको सुची बनाउनुपर्‍यो भने घिमिरे निर्देशित चलचित्रहरु अग्रस्थानमा आउँछन् ।

शम्भु प्रधान (चलचित्रकर्मी)
नेपालमा व्यवसायीक चलचित्र निर्देशनमा शम्भु प्रधानको नाम छुटाउन सकिँदैन । उनी पनि दार्जीलिङ निवासी हुन् । तुलसी घिमिरेकै समकालिनका रुपमा शम्भुले पनि सख्यात्मक रुपमा एक दर्जभन्दा बढि चलचित्र निर्देशन गरे । उनले बनाएका फिल्ममध्ये सम्झना सदा सम्झानायोग्य रह्यो । यसबाहेक उनका बेहुली, सपना, स्वर्ग, नेपाल प्यारो छ, सक्कली नक्कली जस्ता व्यवसायीक चलचित्रहरु निर्देशन गरे । शम्भुको सिंगो परिवार एक समय नेपाली चलचित्रमा संलग्न थियो । शम्भुले आफ्नी पत्नी नुतन प्रधान स्क्रिप्ट राइटर तथा अभिनेत्री थिइन् भने छोरी ईश्वरी र छोरा चंकीले बालकलाकारका रुपमा अभिनय गर्थे । सन्न्यास चलचित्र निर्देशन गरेपछि नेपाली चलचित्रबाट अघोषित सन्न्यास लिएका शम्भुले १२ वर्षपछि नेपाली चलचित्रमा पुनरागमन गरे, रंग बैजनी मार्फत ।





अनुराधा कोइराला (समाजसेवी)
अनुराधा कोइरालालाई नचिन्ने नेपालमा कमै होलान् । तर कमैलाई थाहा छ उनी कालिङपोङबाट आएकी हुन् र गुरुङकी छोरी हुन् । अनुराधा कोइराला सन् १९४९ मा भारतीय सेनामा कार्यरत प्रताप सिंह गुरुङ र लक्ष्मी गुरुङकी छोरीका रुपमा उनको जन्म भएको हो । उनको शिक्षा दिक्षा पनि कालिङपोङमा नै भयो । काठमाडौं आएपछि उनले २० वर्षसम्म विभिन्न विद्यालयमा अध्यापन गरिन् । समाजसेवामा विशेष अभिरुची भएकी उनले सन् १९९३ मा माइती नेपाल संस्था खोलिन् जसमार्फत भारतमा बेचिएका महिलाहरुको उद्दार तथा संरक्षण गर्दै आएकी छिन् । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उनी महिला तथा समाजकल्याण राज्यमन्त्रीसमेत बनेकी थिइन् । उनी सन् २०१० मा सिएनएन हिरोसमेत घोषित भएर नेपालको नाम चम्काउन सफल भइन् ।

रञ्जित गजमेर (संगीतकार)
नेपाली फिल्म संगीतका एक बलवान हस्ती हुन् रञ्जित गजमेर । नेपाली फिल्मको इतिहासलाई दुई भागमा बाँड्ने हो भने पहिलो भागमा उनको एकछत्र जस्तै थिए । रञ्जित गजमेरले संगीत दिएका फिल्मी गीतहरु अहिले पनि नेपाली संगीतप्रेमीका ओठ-ओठमा झुण्डिएका छन् । रञ्जित गजमेर र उदित नारायणको जोडी त्यतिबेला खुब जम्यो । रञ्जितको संगीतमा उदितले गाएका सयौं गीतहरु सुपरहिट भए । यो पहाड यो क्षितिज, मायाको बारीमा प्रीतिको फुल, तिमी नभए जिन्दगानी काँडा सरी छ, नयाँ नयाँ सजाउ है संसार, के सोचेँ मैले के भयो ऐले आदि गितहरु नेपाली जनमानसमा अहिले पनि उत्तिकै लोकपि्रय छन् । तर पछि रञ्जित र उदितको सम्वन्धमा फाटो आएको थियो । बाँसुरी, बासुदेव, कुसुमे रुमाल, सम्झना, लाहुरे, कोशेली, चिनो, तृष्णा, दर्पण छायाँलगायत कैयन फिल्ममा रञ्जित गजमेरले संगीत भरेका गीतहरु नेपाली संगीतका सम्पत्ति हुन् । रञ्जित पनि अम्बर गुरुङका चेला हुन् । सन् १९६६ मा उनी आफ्ना केही साथीहरुसहित वीरगञ्जमा आएर एउटा अंग्रेजी माध्यमको निजी स्कुल चलाएका थिए । १९६७ मा रञ्जित आफ्ना साथीहरुसहित काठमाडौं आए र रेडियो नेपालका स्टुडियो म्युजिसियन बने । त्यसपछि उनी आफ्नो सांगीतिक करिअब अगाडि बढाउन मुम्बईतिर लागे । मुम्बईमा रन्जितले आर डी बर्मनको मातहतमा रहेर थुप्रै हिन्दी फिल्मका गीतमा मादल बजाएका छन् । मुम्बईमा रहेर उनले भटाभट नेपाली फिल्मका गीतमा संगीत भर्न थाले । नेपाली फिल्मको गीतहरु मुम्बईमा गएर रेकर्ड गराउने प्रचलन रहँदासम्म रन्जित नेपाली फिल्म संगीतमा छाएका थिए । तर पछिल्लो समय नेपालमै गीत रेकर्ड हुन थालेपछि बिरानो भए । ७५ वषिर्य गजमेर उमेरका कारण पनि पहिलोजस्तो सक्रिय छैनन् ।

लैनसिंह वाङ्देल (लेखक) 
लैनसिंह वाङ्देलको जन्म १९८१ सालमा दार्जीलिङको तकभर चिया कमानमा भएको थियो । उनका बाबु राई हुन् । उनले दार्जिलिङ हाइस्कुलमा पढे । म्याटि्रक पास गरेपछि उनले आˆनो राई थरलाई वाङ्देलमा रूपान्तर गरे । साहित्यकार नरेन्द्रराज प्रसाईका अनुसार वाङ्देललाई नेपालमा ल्याउन राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको योगदान थियो । राजा महेन्द्रले वाङ्देललाई बोलाएपछि उनी २०१७ साल चैत ५ गते काठमाडौं भित्रिएका हुन् । नेपाल आएको केही दिनमा नै वाङ्देल दम्पत्तिलाई राजा महेनद्रऽले राजदरबार बोलाए । अनि उनले राजाबाट आफ्नी पत्नीसहितले काम पाउने आश्वासन पाएका थिए । २०१८ साल वैशाख २५ गते उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा मनोनित गरियो । पछि उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको उपकुलपति पनि भए र कुलपति पनि भए । 

वाङ्देलले चारवटा उपन्यास, तीनवटा निबन्धसङ्ग्रह र एउटा विश्वका ४ महान कलाकार नामक जीवनीकृति लेखे । साथै अनुदित र सम्पादित गरेर उनका तीन वटा कृति प्रकाशित भएका छन् । नेपाली र अङ्ग्रेजी भाषामा उनका नौ वटा पुरातात्विक कृतिहरू छन् । उनी पुरातात्विक खोजका पनि औपचारिक व्यक्ति मानिन्थे । वाङ्देलले जम्मा दुई हजार चित्र बनाए र तीमध्ये ८० प्रतिशत बिक्री गरे । उनले गोर्खा दक्षिणबाहु, पृथ्वी प्रज्ञापुरस्कार, भूपाल पुरस्कार, उत्तम शान्ति पुरस्कार, सरस्वती पुरस्कारलगायत सम्मान पाएका थिए । उनी २०५९ असोज २९ गते स्वर्गीय भए ।

शिलाबहादुर मोक्तान/कुन्ती मोक्तान (संगीतकार/गायिका)
नेपाली गीत-संगीतको क्षेत्रमा दार्जीलिङवासीको योगदानको चर्चा गर्दा शिलाबहादुर मोक्तान र कुन्ती मोक्तानको जोडीलाई छुटाउन सकिदैन । शिलाबहादुर संगीतकार हुन् भने कुन्ती गायिका । दुवै पति-पत्नी पनि हुन् । कुन्तीले कक्षा आठमा पढ्दा अल इन्डिया रेडियोबाट स्वर परिक्षा उत्तिर्ण गरेपछि संगीतमा होमिएकी हुन् । उनले आफ्नो पहिलो गीत १५ वर्षको उमेरमा नै रेकर्ड गराएकी थिइन् । दार्जीलिङकै शिलाबहादुरसँग सम्वन्ध जोडिएपछि उनीहरुले संयुक्तरुपमा सांगीतिक यात्रा अघि बढाए । शिलाबहादुर र कुन्तीको जोडीले थुप्रै हिट गीतहरु नेपाली स्रोतालाई दिइसकेका छन् । उनीहरुले ल्याएका गीत मध्ये खुट्टा तान्दै गर, चाली राम्रो पाल्पाली ढाकाको, कहिलेकाहीँ मलाई पनि, भन्छन् कोही जिन्दगी यो, माथि माथि सैलुंगेमा लगायत गितहरु जनजिभ्रोमा झुण्डिएका छन् । विशेषत शाष्त्रीय संगीतका लागि यो जोडी चिनिएको छ । शिलाबहादुर र कुन्तीका दुई छोरी पनि संगीत क्षेत्रमा लागेका छन् ।

लीलबहादुर क्षेत्री (साहित्यकार) 
बसाई उपन्यासका लागि चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको जन्मस्थान भारतको असाम हो । उनले आफ्नो पुस्तक ब्रम्हपुत्रको छेउछाउका लागि भारतको साहित्य एकेडेमी अवार्ड प्राप्त गरेका थिए । उनको बसाई उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्क्रममा पनि समावेश गरिएको छ । क्षेत्रीले यसबाहेक अतृप्त, आसाममा नेपाली भाषाको साह्रो गाह्रो, दोबाटो, त्रिदशक बिस अभिव्यक्ति जस्ता पुस्तकहरु प्रकाशित छन् ।





तृप्ती नाडकर (नायिका) 
नेपाली चलचित्रको प्रारम्भ कालमा दार्जीलिङकी नायिका तृप्ती नाडकर औधि लोकप्रिय थिइन् । उनलाई नेपालकी पहिलो नम्बर वान नायिका भन्दा फरक पर्दैन । सन् १९६९ मा दार्जिलिङमा जन्मिएकी तृप्ती सम्झना फिल्मबाट नेपाली चलचित्रमा भित्रिएकी थिइन् । उनले खेरेका दर्जनौं फिल्म सुपरहिट भए । तृप्तीको स्टारडम यति थियो कि दुई दशकअघि उनले साइनो फिल्ममा अभिनय गर्दा डेढ लाख पारिश्रमिक लिएको बताइन्छ । जबकि आज पनि नेपाली हिरोइनको औसत पारिश्रमिक एक-डेढ लाख नै छ । पछिल्लो समय फेरि तृप्ती नाडकरले नेपाली चलचित्रमा पुनरागमनको प्रयास पनि गरिन्, चरित्र अभिनेत्रीको रुपमा तर, खासै चर्चा पाउन सकिनन् । पछिल्लो कालमा उनले आमाको काख, दुनियाँ, कुसुमेरुमाल-२ लगायत चलचित्रमा अभिनय गरेकी छिन् ।



उदय-मनिला सोताङ (गायक-गायिका) 
नेपाली आधुनिक संगीतमा उदय र मनिला सोताङको जोडीले आफ्नै स्थान बनाएको छ । उनीहरु गम्भीर र भावपूर्ण संगीतका लागि चिनिन्छन् । उनी कालिङपोङ र दार्जीलिङमा पढ्थे । मनिला उदयको गीतकी फ्यान थिइन् । फ्यानका रुपमा भेट भएकी उनी प्रेमिकामा बदलिइन् । प्लस टु पढ्दापढ्दै उनीहरुले बिहे गरेका थिए । उदय खासमा राई हुन् । उनका बाजे नेपालको संखुवासभास्थित सोताङ भन्ने ठाउँबाट दार्जिलिङ झरेका हुन् । त्यसैले उनले बाल्यकालदेखि नै राईको साटो सोताङ लेख्न थाले । करिब ३ दशकदेखि नेपालमा बस्दै आएका उदय-मनिला सोताङसँग नेपाली नागरिकता छ । आधि बाटो हिँडेपछि तिमीसँग भेट भयो, आज तिम्रो कुरा चल्यो, तिमी बिना बाँच्न गाह्रो भो, भिज्यो सिरानी रातमा लगायत थुप्रै गीतहरु चर्चित छन् । अहिलेसम्म यो जोडीले करिब एक दर्जनएल्बम संयुक्तरुपमा निकालिसकेका छन् । उनीहरु कार्यक्रमका सिलसिलामा थुप्रै मुलुकको भ्रमण गरिसकेका छन् । उनीहरुकी छोरी श्रेया सोताङ पनि संगीत क्षेत्रमा लागेकी छिन् । उनले गाएका गितहरु युवापुस्तामा लोकपि्रय हुँदैछन् । पछिल्लो समय उनीहरुले मधुशाला गित-गजल एन्ड रेस्टुरेन्ट एन्ड बारमा लगानी गरेका थिए ।

अरुणा लामा (गायिका)
दार्जिलिङमा सन् १९४५ मा जन्मिएकी अरुणा लामा नेपाली संगीत क्षेत्रमा अर्को एउटा बिर्सिन नसकिने नाम हो । आफ्ना काका सिबि लामाबाट उत्प्रेरित भएर उनले सात वर्षको कलिलो उमेरदेखि नै गीत गाउन थालेकी थिइन् । ११ वर्षको उमेरमा उनले गोर्खा दुख निवारक सम्मेलनद्वारा आयोजित सांगीतिक प्रतियोगीतामा उनले अवार्ड जितिन् । सन् १९५८ बाट उनी संगीतकार अम्बर गुरुङको छत्रछायामा आइन् ।सन् १९६३ मा उनले नेपालका संगीतकर्मी शरण प्रधानसँग बिहे गरिन् ।सन् १९७४ मा श्रीमानको मृत्यू भएपछि अरुणाको काँधमा पारिवारिक दायित्व आइपर्‍यो । सन्तान हुर्काउनका लागि उनले कठिन संघर्ष गरिन् । उनले दार्जिलिङको सुचीकृत जात तथा समुदायको कल्याण कार्यालयमा काम गरिन् । अन्य सबै जिम्मेवारीका बाबजुद आफ्नो सांगीतिक यात्रालाई उनले जारी राखेकी थिइन् ।

दार्जिलिङम बसेर उनले अम्बर गुरुङ, गोपाल योञ्जन, शान्ति ठटाल, दिव्य खालिङ लगायत थुप्रै संगीतकारहरुसँग काम गरिन् । उनको रेकर्डिङ भएको पहिलो गीत अम्बर गुरुङको संगीतमा थियो, जसमा शब्द भुपि शेरचनको रहेको थियो । यो गीत सन् १९६१ मा रेकर्ड भएको हो । अरुणाका चर्चित गीतहरुमा ए कान्छा मलाई सुनको तारा खसाइदेउन, फुललाई सोधेँ, पोहोर साल खुशी फाट्दा, हेर न हेर कान्छा, लहरे बर घुमाउने चौतारी, एक्लै बस्दा, हिमालसरी म अग्लिरहेछु, नेपाली गौरव गर्छौं आफ्नैपनमा लगायत छन् । उनले माइतिघर, परालको आगो, कान्छी लगायत थुप्रै नेपाली फिल्महरुमा पनि गित गाएकी छिन् । उनले नेपालमा संगीत सम्वन्धि दर्जनौं पुरस्कारहरु प्राप्त गरेकी छिन् । उनको मृत्यू सन् १९९८ मा भयो ।

निरुता सिंह (नायिका) 
केही समय अघिसम्म निरुता सिंह नेपाली चलचित्रकी नम्बर वान नायिका थिइन् । तर, नयाँ पुस्ताका नायिकाहरुले विस्थापित गरेपछि उनी नेपाली चलचित्रबाट पलायन भएकी छिन् । दार्जीलिङकी कल्कलाउँदी निरुतालाई निर्देशक तुलसी घिमिरेले नेपाली चलचित्रमा भित्र्याएका थिए । दक्षिणा चलचित्रबाट ब्रेक पाएकी निरुताले नेपाली दर्शकको मन जित्न लामो समय लगाइनन् । दर्पण छायाको अपार सफलताले उनलाई नम्बर वान नायिकाको आसनमा राखेको थियो । तर उनले आफ्नो स्थान लामो समय जोगाउन सकिनन् ।

Powered by Blogger.