Header Ads

प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपति विद्यादेवीको भारत भ्रमण रद्द


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आसन्न भारत भ्रमण नेपालकै तर्फबाट रद्द गरिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपसी समझदारीमा भ्रमण रद्द गरिएको हो। स्रोतका अनुसार भ्रमणका विषयमा राष्ट्रपति र प्रधानमन्त्रीबीच शुक्रबार निर्णायक छलफल भएको थियो। शीतलनिवासमा भएको छलफलमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउँदै अहिले भारत जानु उचित नहुने सुझाव दिएका थिए। प्रधानमन्त्रीको सल्लाहलाई राष्ट्रपति भण्डारीले सकारात्मक जवाफ दिएकी थिइन्। भारतले पछिल्लो समय नेपालमा राजनीतिक चलखेल गर्न खोजेको र दलहरुलाई एक अर्काविरुद्ध प्रयोग गरेको निस्कर्ष प्रधानमन्त्रीले निकालेको स्रोतको दावी छ। ‘नेपालको आन्तरिक मामलामा खेल्न खोजेको प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले भ्रमण रद्द गराउनुभएको हो,’ स्रोत भन्छ, ‘यसलाई भरतीय शैलीप्रतिको कुटनीतिक असन्तुष्टिका रुपमा लिन सकिन्छ।’ त्यसो त आफ्नो भ्रमणलाई औपचारिकमा सीमित गरिएपछि राष्ट्रपति स्वयम् पनि भ्रमणप्रति त्यति उत्साहित थिइनन् । 

राष्ट्रपति निकट स्रोत भन्छ, ‘प्रधानमन्त्रीको भ्रमण राजकीय हुनु तर राष्ट्रपतिको भ्रमण औपचारिक हुनु असुहाउँदो विषय थियो ।’ भ्रमण स्थगित गरिएको जानकारी नेपालका तर्फबाट भारतलाई गराइसकिएको छ। यसमा भारतको रियाक्सन आइनसकेको स्रोतले बतायो। प्रधानमन्त्रीका कुटनीतिक मामला विज्ञ गोपाल खनालले भने तयारीका लागि समय अभावले गर्दा भ्रमण स्थगित भएको दावी गरे। ‘पहिलो धार्मिक प्रकृतिको भ्रमण भनिएको थियो । पछि औपचारिक हुने भनिएपछि नेपालका तर्फबाट तयारी गर्न समय पुगेन। पछिल्ला केही दिन यता राजनीतिक घटनाक्रमले गर्दा पनि यसतर्फ ध्यान नपुगेको हुन सक्छ,’ उनले अनलाइनखबरसँग भने। राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणका रुपमा २७ वैशाखमा भारत जाने कार्यक्रम थियो । भारतले पनि भ्रमणको सबै तयारी भइसकेको जनाएको थियो।
Powered by Blogger.