Header Ads

डा. हर्कबहादुरले विधानसभा चुनाव लड्ने ‘कञ्चनजङ्घा पोस्ट’ को खुलासा

कालेबुङ : जिल्ला ल्याएको दाबी गर्ने कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले यसैवर्ष हुने विधानसभा चुनाव लड्ने ‘कञ्चनजङ्घा पोस्ट’-ले खुलासा गरेको छ। कालेबुङबाट प्रकाशित यस पत्रिकाले विधायक डा. हर्कबहादुर छेत्रीसँग गरेको अन्तरवार्तामा उक्त खुलासा गरिएको छ। यसका साथै नयाँ राजनैतिक दलले दार्जीलिङ पहाडको तीनवटा महकुमा मात्रै नभएर सम्भावना रहेका अन्य ठाउँहरूबाट पनि विधानसभा चुनाव लड्ने खुलासा गरेको छ। उनले नयाँ गठन हुन लागेको राजनैतिक दलले छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति कार्य गर्ने अनि हालमा पनि कार्य गरिरहेको दाबी गर्दै गोजमुमो पार्टीले भने गोर्खाल्याण्डलाई नारामा मात्र सिमित राखेको दाबी गरेका छन्।

कालेबुङ जिल्लाको मुद्दा बोकेर गोजमुमो पार्टीबाट विद्रोह गरी निस्केका डा. छेत्रीले आजसम्म जिल्ला गठनको श्रेय गोजमुमो पार्टीलाई दिएका छैनन्। यसक्रममा प्रथमपल्ट डा. छेत्रीले कञ्चनजङ्घा पोस्ट पत्रिकाको अन्तर्वार्तामा जिल्ला गठनको श्रेय गोजमुमो पार्टीलाई दिएका छन्। ‘गोजमुमो पार्टीको टिकटमा चुनाव जितेर विधायक बन्नुभयो। जिल्ला गठनको श्रेय गोजमुमोलाई दिनुहुन्छ ?’ भनि सोधिएको प्रश्नको जवाबमा उनले भनेका छन् –‘निश्चय नै दिनेछु। किन दिन्छु भने मलाई विधायक नबनाएको भए म त्यहाँ पुग्ने थिइँन अनि त्यहाँ नपुगेको भए यो माग उठ्ने नै थिएन। …. निस्सन्देह जिताउने जनता हो, जनतालाई श्रेय दिनुपर्छ। जनतालाई एकठाउँमा भेला पार्ने काम गोजमुमोले गर्योद, यसकारण मोर्चालाई श्रेय दिनुपर्छ।’

कञ्चनजङ्घा पोस्टसितको लामो कुराकानीमा उनले हाल गोजमुमोले आफूलाई तल झार्ने षडयन्त्र गरिरहेको दाबी गर्दै उनीहरूले नयाँ राजनैतिक दल बङ्गालको प्रायोजना खोलिन लागेको आरोप लगाउने गरेको पनि बताएका छन्। यसैक्रममा हाल गठन हुन लागेको नयाँ राजनैतिक दलको नेतृत्वलाई लिएर डा. छेत्री अनि उनीहरू माझमा आन्तरिक द्वन्द्व चलोरहेको हलाहरूलाई पनि विधायक छेत्रीले अस्वीकार गरेका छन्। ‘नेतृत्वलाई लिएर हामीमा कुनै मतभेद छैन, अन्तरद्वन्द्व छैन। यो जाती पनि हल्ला गर्दैछन्, तिनीहरू हाम्रा शुभचिन्तक होइनन्’ – डा. छेत्रीले अन्तर्वार्तामा भनेका छन्। अर्कोतर्फ नयाँ राजनैतिक दलले छुट्टै राज्यको मुद्दालाई कति प्राथमिकता दिन्छ ? भनि सोधिएको प्रश्नमा उनले ‘हामीले नाउँ काटेका छैनौँ तर काम गर्दैछौँ छुट्टै राज्यको। अरूले नाउँ काट्छ अनि काम गर्दैन’ भनेका छन्।

अर्कोतर्फ गोजमुमो अध्यक्ष विमल गुरूङसित लिएको लिखित अन्तर्वार्तामा आगमी विधानसभा चुनाव गोजमुमोले ‘गोर्खाल्याण्ड’ कै मुद्दामा लड्ने दाबी गरेका छन्। यसक्रममा मोर्चा अध्यक्ष विमल गुरूङले ‘डा. छेत्री दाबी गर्ने व्यक्ति मात्र रहेको अनि काम भने मोर्चाले नै गरेको’ दाबी गरेका छन्। ‘डा. छेत्री दाबी गरेर नै हिरो भए, दाबी गरेर नै जिरो पनि हुनेछन्। हामी काम गर्छौँ तर हल्ला गर्दैनौँ’ – विमल्क गुरूङले लिखित अन्तर्वार्तामा भनेका छन्। कञ्चनजङ्घा पोस्टले दुई नेताहरूसित गरेको अन्तर्वार्तालाई हेर्नु हो भने आगमी विधानसभा चुनाव हर्क बनाम विमल नै स्पष्ट हुने छाँट देखिएको छ।

Powered by Blogger.