Header Ads

दुइ दिने कालेबुङ महोत्सव 2015 को भव्य समापन


चेवाङ योंजन 
कालेबुङ : साहित्य र पत्रकारितासँग जोडिएका युवाहरूको जमात सृजनशील समूहले आयोजना गरेको दुइदिने कालेबुङ महोत्सव 2015-ले कालेबुङे समाजलाई तंरगित गरेको छ। कला, सृजना र राजनीतिसँग जोडिएका मानिसहरूलाई एउटै मञ्चमा भेला गरेर सृजनशील समूहले एउटा बेग्लै किसिमको बौद्धिक अभ्यासको संस्कृति शुरु गरेको छ। कालेबुङको टाउन हलमा सम्पन्न भएको दुइदिवसीय महोत्सवको उद्देश्य सांस्कृतिक विविधताको सम्मान र संरक्षण थियो। समाजमा मुल्यहरूको पुनर्स्थापनाको प्रयास थियो। यो कार्यक्रमले कथित जातीय अनि सांस्कृतिक विभाजनको भ्रमलाई तोड्ने काम मात्र गरेन तर कला, साहित्य, नाटक, सिनेमा, राजनीति र समाजसरोकारको क्षेत्रमा काम गर्ने मानिसहरूलाई प्रतिबद्ध र जवाफदेही बन्न सचेत पनि बनाएको छ। दुइ दिनको महोत्सवको मुख्य आकर्षण थियो हिमाली पारम्पारिक खाद्य उत्सव। 

कालेबुङ महोत्सवको एउटा अंशको रूपमा आयोजना गरिएको यो खाद्य उत्सवमा 14 वटा जातगोष्ठीले आफ्ना पारम्पारिक खानपिनहरूको प्रदर्शनी र बिक्री गरेका थिए। यसबाहेक कालेबुङ महोत्सवअन्तर्गत टाउनहल परिसरमा कालेबुङ आर्टिस्ट एसोसिएसनको चित्रकला प्रदर्शनी, फोकस कालेबुङको फोटो प्रदर्शनी, मानवी प्रकाशन, उपमा प्रकाशन,चरित्र प्रकाशन अनि आरोहण प्रकाशनको पुस्तक मेला, विभिन्न जातिसमुदायका पारम्पारिक भेषभूषा, हतियार र औजारहरूको प्रदर्शनीलगायत हू केयर्सको जागरण शिविर महोत्सवका अन्य आकर्षण थिए। दुइ दिने महोत्सवमा बौद्धिक चिन्तन र बहसको कार्यक्रम टाउनहलभित्र सम्पन्न भएको थियो। कला, साहित्य,पत्रकारिता,नाटक, सिनेमा, राजनीति र समाजसरोकारसँग सम्बद्ध मानिसहरूले भाग लिएको वार्ता र बहसको सत्रहरूमा आआफ्ना विधाहरूको मुल्य र मान्यताहरूमाथि चिन्तन र चर्चा गरिएको थियो। कालेबुङका विधायक डा हर्कबहादुर छेत्री, डा महेन्द्र पी लामा, सीके श्रेष्ठ अनि अनमोल प्रसादले समाज र राजनीतिको अन्तर्सम्बन्धलाई प्रभावित पारिरहेका समकालिन विषयहरूमाथि आफ्नो वार्ता प्रस्तुत गरेका थिए।

महोत्सवको पहिलो दिनको सत्रमा अधिवक्ता अनमोल प्रसादले समकालिन राजनीतिः जटिलता र सम्भावना बिषयमाथि आफ्नो वार्ता राखेका थिए। उनले आफ्नो वार्ताको सारमा सक्षम र दूरदर्शी नेतृत्वले मात्र जनाकांक्षालाई पुरा गर्न सक्ने कुरामाथि जोर दिएका थिए। यसै सत्रका अर्का वक्ता थिए डा महेन्द्र पी लामाले। उनलाई दिइएको केन्द्र र सिमान्तकृत आवाज विषयमाथि बोल्दै केन्द्र र राज्य सरकारले यो क्षेत्रका नेतृत्वको दूर्बलतालाई विश्लेष्ण गरी एउटा विशेष किसिमको धारणा बनाएर बसेको विचार व्यक्त गरेका थिए। पहिलो दिनको दोस्रो सत्रमा कालेबुङ जिल्लामाथि बहस गरिएको थियो। यो बहसमा विधायक हर्कबहादुर छेत्री, पूर्व गोरामुमो नेता अनिल लोप्चन, पूर्व गोजमुमो नेता पासाङ तामाङ, गोजमुमो नेता दावा लेप्चा, अनि कालेबुङ कलेजका प्राचार्य डा राजेन्द्र ढकालले भाग लिएका थिए। 


यही सत्रमा सम्पन्न नेपाली नाटकको दिशा र चुनौति शीर्षकमा कालेबुङका नाट्यकर्मीहरू ललित गोले, अरूणप्रकाश राई, महेन्द्र बाग्दास, प्रतिभा कुमाई अनि मधुसूदन लामाले भाग लिएका थिए। यो बहसको सत्रमा सहभागी नाट्यकर्मीहरूले नेपाली नाटकको ताजा स्थिति र यसले भोग्न परिरहेको राजनैतिक दवाउ, तकनिकी अनि व्यावसायिक समस्याबारे चर्चा भएको थियो। यसरी नै कालेबुङ र आमसमस्यामाथि पुलिसप्रशासनबाट अतिरिक्त पुलिस अधिक्षक भोलानाथ पाण्डे, नागरिक समाजबाट चालक महसंघका अध्यक्ष महेन्द्र गुरूङ, माकपा नेता तारा सुन्दास अनि हू केयर्सका सल्लाहकार टासी शेर्पाले भाग लिएका थिए। महोत्सवको दोस्रो दिन पनि वार्ता र बहसहरू सम्पन्न भएको थियो। यस दिन साहित्य र कालेबुङ, पत्रकारिता र कालेबुङ, समकालिन राजनीति, सिनेमा र कालेबुङ, जातिगत बोर्डको माग र राजनैतिक समिकरण विषयमाथि बहस सम्पन्न भएको थियो भने दोस्रो सत्रमा सीके श्रेष्ठले हामी जरा पहिल्याउँदै कि खोतल्दै? शिर्षकमाथि वार्ता प्रस्तुत गरेका थिए भने मोर्चा नेता सामुएल गुरूङले समाज, राजनीति र जवाफदेहितामाथि आफ्नो विचार प्रकट गरेका थिए। 

महोत्सवको दोस्रो दिन विधायक अनि लेखक डा हर्कबहादुर छेत्रीले सृजनशील सोच, अग्रगामी समाज विषयमाथि आफ्नो अभिव्यक्ति दिएका थिए। समकालिन राजनीतिमाथि गरिएको बहस यस दिनको विशेष आकर्षण थियो। यो बहसमा गोजमुमो नेता सामुएल गुरूङ, विधायक डा हर्कबहादुर छेत्री, गोर्खालीग नेता प्रताप खाती, जिल्ला माग समितिका संयोजक युसुफ सिमिक, माकपा नेता तारा सुन्दस खाती अनि क्रामाकपा नेता किशोर प्रधान सहभागी थिए। अलग गोर्खाल्याण्ड राज्यको मुद्दा, नयाँ दल गठनको सम्भावना अनि आसन्न विधानसभा चुनाउलाई केन्द्रमा राखेर सम्पन्न यो बहसमा सहभागीहरूले आफ्नो विचार प्रकट गरेका थिए। कुनै न कुनै गतिविधिका कारण चर्चामा आइरहने कालेबुङ अहिले यो दुइदिने महोत्सवको आयोजनको कारण दार्जीलिङ पहाडमा चर्चामा छ। 

यो कार्यक्रमले यहाँको सामाजिक अनि राजनैतिक वृतमा नयाँ तंरग पैदा गरेको छ। फरक र नौलो अवधारणा, परिकल्पना र प्रस्तुति रहेको कालेबुङ महोत्सवलाई कालेवुङवासीले सराहानीय बताएका छन। महोत्सवमा सहभागी मानिसहरूले युवा पुस्ताको नयाँ सोच र जाँगर सलामयोग्य रहेको प्रतिक्रिया दिएका छन। ‘सबै दृष्टिकोणबाट यो कार्यक्रम उच्चकोटीको भएको छ। यसले समाजको सबै विधा र क्षेत्रमा काम गरिरहेका मानिसहरूलाई रचनात्मक र क्रियाशील बन्न प्रेरित गरेको छ” भागोपका प्रवक्ता आर मोक्तानले भने। गोर्खालीग नेता प्रताप खातीले महोत्सवको आयोजनाबारे प्रतिक्रिया गर्दै भने,”कालेबुङमा यति गुणस्तरको कार्यक्रम अहिलेसम्म कहिले भएको थिएन। सृजनशील समूहको यो प्रयासलाई म सलाम गर्छु” मोर्चा नेता सामुएल गुरूङले पनि महोत्सवको उद्देश्य र प्रभावको प्रशंसा गर्दै स्वस्थ्य र समक्ष समाजको निर्माणको निम्ति सृजनाकर्मीहरूले थालेको यो पहलबाट कालेबुङवासीले धेरै कुरा सिक्नुपर्ने मन्तव्य प्रकट गरेका छन।





Powered by Blogger.