Header Ads

सीमामा ढुवानी सहज पार्ने भारतको आश्वासन


काठमांडू : भारतीय उच्च अधिकारीहरुले नेपालसंगको नाकामा अड्किएका सवारीसाधनलाई पठाउन सहजीकरण गर्ने वचन दिएको भारतका लागि नेपाली राजदूतले बताएका छन्। इन्धन लगायत सामान बोकेका सवारी साधनहरुको नेपालपट्टिको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले दिएपछि उनीहरु सहजीकरणका लागि तयार भएको दिल्लीस्थित नेपाली राजदूत दिपकुमार उपाध्यायले बताए। पेट्रोलियम पदार्थलाई प्राथामिकता साथ पुरानै अवस्थामा नेपाल आउने व्यवस्था मिलाइने काम भइरहेको अधिकारीहरुले बताएका छन्। पछिल्लो १० दिन यता भारतीय पक्षले नाकाबन्दी नभने पनि नेपाल आउने पेट्रोलियम पदार्थ लगायतका सामाग्रीहरु आउन रोकिएका थिए।

भारतीय अधिकारीसँग लगातार छलफल
जसलाई नेपाली अधिकारीहरुले भारतीय पक्षको अघोषित नाकाबन्दी भन्ने गरेका छन्। आयात रोकिँदा असहज बनेको जनजीवनलाई सहज पार्न भैरहेका कूटनीतिक प्रयासहरु सफलता उन्मुख भएको भारतीय अधिकारीसँग लगातार छलफल गरिरहेका राजदूत उपाध्यायले बताए। असमझदारीलाई सरकारका तहमा छलफल गर्दै जाने भन्दै हाल विभिन्न सामग्रीहरुको अभावका कारण जनताले पाइरहेको दुख अन्त्य गर्न भारतीय अधिकारीहरु तयार भएको पनि उनले बताए। उपाध्यायले भने कि उहाँहरुले आफ्नो तर्फबाट सहजीकरण गर्छौ भन्नु भएको छ। भन्सार, सुरक्षा निकाय लगायतका जुन जुन निकाय छन् ति निकायबाट प्राथामिकतामा सामानहरु नेपालपट्टी पु-याउने काममा हाम्रो भूमिका हुन्छ भन्नु भएको छ। भारतीय पक्षले सामान ढुवानी गर्ने सवारीसाधनको नेपालको भू-भागमा सुरक्षाको विषय उठाएको र त्यसको प्रवन्ध गर्ने वचन नेपाल सरकारका तर्फबाट आफुले दिएको राजदूत उपाध्यायले बताए। उनले भने कि सरकारका तर्फबाट नेपालतर्फ पुगे पछि हाम्रो सम्पूर्ण जिम्मेवारी हुन्छ। सम्बन्धित ठाँउसम्म पु-याउने काम र त्यहाँबाट फेरि भारतीय सिमानासम्म ल्याउने काममा हाम्रो जिम्मेवारी छ भनेर भनेको छु।

आन्दोलनरत पक्षहरुबाट भइरहेको अवरोध
नाकाहरुमा आन्दोलनरत पक्षहरुबाट भइरहेको अवरोधलाई नेपाल पक्षले सहज पार्दै जाने र कुनै नाकामा अवरोध देखिए त्यहाँ रोकिएका पेट्रोलियम पदार्थ लगायतका अति आवश्यकीय सामग्री बोकेका सवारी साधनलाई नजिकको अर्को नाकाबाट नेपाल पठाउने व्यवस्था मिलाइने उनले बताए। पेट्रोलियम पदार्थको ढुवानीलाई प्राथामिकता साथ पुरानै अवस्थामा नेपाल आउने व्यवस्था मिलाइने पनि राजदूत उपाध्यायले बताए। उनले भने "इन्धन भर्ने डिपोहरुमा हाम्रो पेट्रोलियम पदार्थ छ, ढुवानी गर्ने साधनहरु पनि तयार छन्। यसको जुन व्यवस्थापनमा अवरोध थियो त्यो चाहिँ अब दुबैपक्ष मिलेर हटाएर पहिले जस्तै सुचारु व्यवस्थापन हुनुपर्छ भन्नेमा हामी लागेका छौं। भारतीय आपूर्ति मन्त्री लगायत विभिन्न क्षेत्रका उच्च अधिकारीसँग भएको छलफलका क्रममा उनीहरुले यस्तो वचन दिएको उनले बताए। शनिबार साँझबाट खासगरी पश्चिमका सुनौली र नेपालगञ्जका नाकाहरुमा यसअघिका दिनहरुमा भन्दा केही बढी पेट्रोलियम पदार्थका ट्याङकर र अन्य सामान बोकेका मालवाहक साधनहरु नेपाल भित्रिएको त्यहाँस्थित अधिकारीहरुले बताएका छन्।





- बीबीसी रिपोर्ट
Powered by Blogger.