Header Ads

नेपाल : इन्धन अभावले विद्यालयहरु 'बन्द' हुने स्थितिमा


काठमांडू : इन्धन संकट तत्काल नहटे अधिकांश विद्यालयहरु बन्द हुने स्थितिमा पुगेको विद्यालय संगठनहरुले बताएका छन्। इन्धन र ग्यासको आपूर्ति सहज नभए दशैंको विदा अघिसम्म विद्यालयहरु खुल्ने अवस्थामा नरहेको उनीहरुले बताएका छन्। सरकारले अत्यावश्यकीय भन्दै विभिन्न क्षेत्रलाई इन्धन दिइरहेको भएपनि हाल केही नाकाबाट भित्रिएका थोरै परिमाणका इन्धन स्कूल बसहरुलाई दिनका लागि पर्याप्त नभएको बताएको छ। यो वर्षको शुरुमै गएको भूकम्पका कारण लामो समय प्रभावित भएको बालबालिकाको पढाई अहिले नेपाल-भारत सीमामा भइरहेको अवरोधका कारण थप मारमा परेको छ।

स्कुलहरु लगभग बन्द हुने अवस्थामा पुगे
इन्धन अभावले अघिल्लो सातादेखि नै आंशिक रुपमा प्रभावित भएका स्कुलहरु आइतबारबाट लगभग बन्द हुने अवस्थामा पुगेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का महासचिव डिके ढुंगानाले बताए। उनले भने, "सम्भवत आइतबारबाट धेरै विद्यालयहरु बन्द हुने स्थिति छ, इन्धनका कारण स्कुलका बसहरु गुड्न सक्ने अवस्था छैन, त्यस्तै ग्याँस लगायतका अन्य अत्यावश्यकीय वस्तुका कारणले स्कुलका होस्टेल र मेसहरु चल्न नसक्ने अवस्था छ।" सरकारले अत्यावश्यकीय सेवा भन्दै एमबुलेन्स, खानेपानी, शव वाहन, दुधका गाडीलगायतलाई इन्धन दिइरहेको छ भने विद्यालय सञ्चालनलाई भने त्यसभित्र राखेको छैन।

चैतको पहिलो साता हुने एसएलसी परिक्षामा ठूलो बाधा
शिक्षा मन्त्रालयले स्कूलका गाडीहरुलाई पनि अत्यावश्यकीय सेवाभित्र पारेर इन्धन दिन आग्रह गरेपनि अहिले भित्रिरहेको इन्धनको परिमाणबाट स्कुललाई दिनसक्ने अवस्थामा आफूहरु नरहेको गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए। उनले भने, "तीन चारवटा ट्यांकरहरु आएर त त्यसले आपुर्ति गर्दैन, अत्यावश्यकीय सेवाहरुलाई मात्रै हामीले पुर्याएर दिने हो त्यो बाहेकलाई हामीले दिनसक्ने अवस्था छैन।" सरकारले चार वर्ष अगाडि नै विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरे पनि इन्धनको चरम अभावका बेला विद्यालयलाई समावेश नगर्दा विद्यार्थीको कोर्स सक्नै मुस्किल पर्ने विद्यालय संगठनहरुले बताएका छन्। विशेषगरी पढाइमा भइरहेको यो अवरोधले चैतको पहिलो साता हुने एसएलसी परिक्षामा ठूलो बाधा पुग्ने भन्दै कोटा प्रणालीबाट इन्धन बाँडेर भए पनि विद्यालय सञ्चालनलाई सुचारु गर्न प्याब्सन अनि एनप्याब्सनजस्ता विद्यालय संगठनहरुले सरकारलाई आग्रह गरेका छन्।

- बीबीसी रिपोर्ट

Powered by Blogger.