Header Ads

कुन्दुजस्थित अस्पताल बमबारीको निन्दा


काबुल : स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मानवीय सहायता संस्था मेडिसाँ साँ फ्रन्तिय एमएसएफले उत्तरी अफगानिस्तानको कुन्दुजस्थित अस्पतालमा भएको बमबारीको कडा शब्दमा निन्दा गरेको छ। अमेरिकी सेनाले उक्त बमबारीका निम्ति आफू जिम्मेवार भएको हुन सक्ने बताएको छ। एमएसएफले आफ्ना नौ कर्मचारीको मृत्यु भएको पुष्टि गरेको छ। सो बमबारीको घटनामा परी एमएसएफ का १९ कर्मचारी सहित ३७ जना घाईते भएका छन्।

३० मिनेटसम्मपनि हमला जारी रहेको थियो
राती भएको उक्त आक्रमणपश्चात थुप्रै अझै बेपत्ता रहेको उसले बताएको छ। सो एजेन्सीका अनुसार अमेरिकी तथा अफगान अधिकारीहरुलाई आफ्नो अस्पतालको यथार्थ ठेगानाबारे अवगत गराएको ३० मिनेटसम्मपनि हमला जारी रहेको थियो। त्यसमाथि उक्त अस्पतालको यथार्थ अवस्थितिबारे जीपीएस आँकडा काबुल तथा वाशिंगटनका अधिकारीहरुलाई यसअघिनै उपलब्ध गराइसकिएको अनि पछिल्लोपटक सेप्टेम्बर २९ मा समेत अवगत गराइएको एमएसएफले जनाएको छ। अफगानिस्तानस्थित अमेरिकी फौजका एक प्रवक्ता कर्नेल ब्रायन ट्रिबसले अमेरिकी सेनाले स्थानिय समय अनुसार राती सवा दुई बजे कुन्दुज शहरमा हवाइ हमला गरेको बताउँदै सो हमलाका दौरान नजिकै रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेको हुन सक्ने बताए। सो घटनाको आफुहरुले छानबिन गरिरहेको उनले बताए। अफगानिस्तानको गृह मन्त्रालयले अस्पतालभित्र १० देखि १५ विद्रोही लुकिरहेको र उनीहरु सबै मारिएको जनाएको छ। केही डाक्टरहरुपनि मारिएको मन्त्रालयका प्रवक्ताले बताए। तर तालिबानले हवाइ हमलाका बेला आफ्ना कुनैपनि लडाकू सो अस्पतालमा नरहेको जनाएको छ।

संयुक्त राष्ट्रसंघका मिशन प्रमुखका खण्डन
तालिबानले 'बर्बर अमेरिकी सेनाले जानाजान सो अस्पतालमा आक्रमण गरेको' आरोप लगाएको छ। उक्त घटना भएको बखत अस्पतालमा एक सयभन्दा धेरै बिरामीहरु अनि तिनका आफन्तहरु रहेका थिए। ती मध्ये कति मारिए भन्ने अझै प्रष्ट भइसकेको छैन। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघका मिशन प्रमुखले अस्पताल कहिलेपनि हमलाका निशाना हुन नहुने प्रतिक्रिया दिएका छन्। उनले एमएसएफका क्रियाकलापको प्रशंसा पनि गरे।

रेडक्रसले पनि कडा भर्त्सना गरेको छ
अन्तर्राष्ट्रिय रेडक्रसले पनि बम हमलाको कडा भर्त्सना गरेको छ। गत सोमबार तालिबान लडाकूहरुको प्रवेशसंगै कुन्दुज शहरमा चर्को लडाईं जारी छ। अफगान अधिकारीहरुले शुक्रबार उक्त शहर पुन: आफ्नो नियन्त्रणमा आएको बताएपनि तालिबानले त्यसको खण्डन गरेको छ। अफगान फौजलाई सहयोग गर्न अमेरिकी सेनाले हवाइ हमला गरिरहेको छ। तीन लाख जनसंख्या रहेको कुन्दुज अफगानिस्तानको एक प्रमुख शहर हो।

- बीबीसी रिपोर्ट

Powered by Blogger.