Header Ads

हवाई सुरक्षाबारे रुस-अमेरिकाबीच सम्झौता


न्यूयार्क। रुसी र अमेरिकी अधिकारीहरुले सिरियाली आकासमा दुई मुलुकका हवाई फौजबीच भिडन्त हुन नदिनेबारे एउटा सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताएका छन्। इस्लामिक स्टेट लडाकुहरुलाई लक्षित गरेको भन्दै रुसले सेप्टेम्बर ३० तारिखदेखि सिरियामा हवाई आक्रमण गर्दै आएको छ। सेप्टेम्बर महिनादेखि नै अधिकारीहरुले एउटा सम्झौता गर्ने प्रयास गरिरहेका थिए। पेन्टागनका प्रवक्ता पिटर कूकले मस्कोको आग्रहमा सम्झौताको विवरण गोप्य राखिएको बताएका छन्।

आधार
उनले सम्झौताले दुवै पक्षबीच संवाद गर्ने आधार तयार पारेको र हटलाइन स्थापित गरिने उल्लेख गरे। यद्यपि दुई मुलुकले आ-आफ्ना निशानाबारे सूचना आदानप्रदान नगर्ने उनले जनाए। प्रवक्ता कूकले दुवै देशका लडाकु विमानहरु एकअर्कादेखि सुरक्षित दूरीमा रहने बताएपनि निश्चित दूरीबारे सहमति भए वा नभएकोबारे केही उल्लेख गरेनन्। पेन्टागनका अनुसार गत साता सिरियाली आकासमा अमेरिकी र रुसी लडाकु विमानहरु एकअर्कालाई हेर्न मिल्ने १० देखि २० माइलको दूरीमा पुगेका थिए। रुसी उपरक्षामन्त्रीले अमेरिकी र रुसी विमानबीच संभावित दुर्घटना रोक्ने विषयमा, सम्झौतामा कयौं नीति र प्रतिबन्धहरु समेटिएको बताए।

निशाना

पश्चिमा मुलुकहरु र सिरियाली अधिकारकर्मीहरुले रुसी लडाकु विमानहरुले इस्लामिक स्टेट बाहेक मध्यमार्गी विपक्षीहरुलाई निशाना बनाउने गरेको बताउँदै आएपनि रुसले त्यसको खण्डन गर्दै आएको छ। सिरियाली राष्ट्रपति बशर अल असदको आग्रहमा इस्लामिक स्टेट र अरु जिहादी समूहहरुविरुद्ध हवाई आक्रमण शुरु गरेको रुसले बताउँदै आएको छ। अमेरिकी अधिकारीहरुले रुसले आक्रमण शुरु गर्नुभन्दा एकघण्टा अघिमात्र आफूहरुलाई जानकारी गराइएको बताएका थिए।  हवाई आक्रमणमा सहकार्य र गोप्य सूचना आदानप्रदान नहुने भएकोले उक्त सम्झौताले धेरै विषय समेटेको छैन्।

- बीबीसी रिपोर्ट
Powered by Blogger.