Header Ads

भारतीय गुरूङहरुको प्रथम राष्ट्रीय अधिवेशन, जनजाती तमुहरू एकझुट


छेवाङ योञ्जन
कालेबुङ : गुरूङ समुदायलाई पनि भारत सरकारले जनजातीको दर्जा दिइनु पर्ने माग हाल दार्जीलिङ पहाड़मा तिब्र बनिरहेको छ। गुरूङ समुदायको मुद्दालाई टुङ्गो लगाउन हालमा भारतीय गुरूङ(तमु) सङ्गठन निक्कै सक्रिय बनेको छ। यसै सङ्गठनले देशभरिका गुरूङहरुलाई भेला गरी दार्जीलिङ जिल्लाको कालेबुङ महकुमामा प्रथम राष्ट्रीय महा-अधिवेशनको आयोजना गरेको छ। तमुहरुको यस अधिवेशनक दुइदिनसम्म चल्नेछ। यस दुइदिवसीय अधिवेशनबाट जनजाती मुद्दालाई पार लगाउने प्रकारको रणनीतिहरु तयार पार्ने सङ्गठनको उद्देश्य छ। भारतवर्षभरि छरिएर बसेका गुरूङहरूलाई संगठित गर्दै उनीहरूको राजनैतिक अधिकार, सामाजिक, सॉंस्कृतिक अनि विशेष गरी आर्थिक उत्थानको दिशामा देशका सम्पूर्ण गुरूङहरू एकीकृत हुँदै आयोजित गरिएको यस महाधिवेशनको आज प्रथम दिनको कार्यक्रममा राष्ट्रस्तरमा गुरूङ समुदायको एकीकरण अनि संगठनको राष्ट्रिय नीति निर्धारणको दिशामा एउटा राष्ट्रिय कार्य समिति निर्माणको दिशामा महत्वपूर्ण प्रस्ताव पेश गरिएको छ। महाधिवेशन आयोजक समितिका मुख्य संयोजक सामुएल गुरूङले आफ्नो सम्वोधनको क्रममा यो प्रस्ताव पेश गर्दै भोलि अधिवेशनको समापन समारोहमा उक्त राष्ट्रिय कार्य समितिको बारेमा चुड़ान्त निर्णयको घोषणा गरिने जानकारी दिएका छन्।

यसअघि मेलाटारमा स्व. अड़िबहादुर गुरूङ स्मृति मञ्चमा मुख्य अतिथिको रूपमा उपस्थित सिक्किम सरकारका संसदीय सचिवा तथा पूर्व मन्त्री श्रीमती तिलु गुरूङ अनि महाधिवेशनका अध्यक्ष अवकाशप्राप्त ब्रिगेडियर(भीएसएम) एनके गुरूङले दीप प्रज्ज्वलन साथै संगठनको आधिकारिक झण्डा उत्तोलन गरेपछि महाधिवेशन आरम्भ भएको थियो। आफ्नो मुख्य आतिथ्यको सम्वोधनमा श्रीमती गुरूङले राष्ट्रिय स्तरमा गुरूङहरूलाई एकताको सूत्रमा बॉंधेर राष्ट्रिय स्तरमा कार्य नीति तयार पार्न भारतीय गुरूङ(तमु) संगठनले गरेको जमर्कोको प्रशंसा गर्दै कतिपय भूलभ्रान्ति अनि मनमुटाउहरूलाई पर पन्स्याएर सबैले आफ्नो गुरूङ जातलाई शिरमा राखेर हिँड्नुपर्छ भनी आह्वान गरिन्। गुरूङहरूको अनुसूचित जनजाति(ट्राइबल)-को मागबारे बोल्दै उनले केन्द्रिय स्तरमा अहिलेसम्म छुट्टा-छुट्टै रूपमा पेशकश गरिँदा पाइएको तीतो अनुभवहरूबाट पाठ लिनुपर्ने बताइन्। उनले भनिन्- हामी सबैको माग एउटै छ भने बोली पनि एउटै हुनुपर्छ र दिल्लीमा माग राख्दा पनि एउटै बोली हुनुपर्छ। उनले सिक्किम सरकारले गुरूङ भाषालाई राज्य भाषाको दर्जा दिएको उल्लेख गर्दै अन्य समुदायसरह गुरूङ जाति अनि उनीहरूको भाषा, संस्कार-संस्कृति र आर्थिक उत्थानको निम्ति संरक्षण र सम्वर्द्धन गरिरहेको जानकारी गराइन्। श्रीमती गुरूङले दार्जीलिङ, सिक्किम अनि कालेबुङलाई तीनचूल्हाको संज्ञा दिँदै यी तीनवटा चूल्हा मिलेर अघि बढ्नुपर्छ भनी आह्वान गरिन्।

यसअघि कार्यक्रमलाई सम्वोधन गर्दै भारतीय गुरूङ(तमु) संगठनका अध्यक्ष कर्णल डीआर गुरूङले गुरूङहरूको एकता अनि ट्राइबलको मुद्दालाई लिएर एकस्वरमा अघि बढ्नुपर्ने कुरामाथि बल दिए भने मेघराज गुरूङले वार्ता प्रस्तुत गर्दै गुरूङ भाषा, साहित्य, संस्कार-संस्कृतिमाथि प्रकाश पारे। महेन्द्र गुरूङ अनि उमादेवी गुरूङद्वारा सञ्चालन गरिएको अधिवेशन कार्यक्रममा स्वागत सम्वोधन प्रदीप गुरूङले राखेका थिए भने झण्डोत्तोलनको अवधि नाम्चीका सॉंस्कृतिक कलाकारहरूद्वारा गुरूङ आधिकारिक गीत प्रस्तुत गरिएपछि रंगारंग सॉंस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। दार्जीलिङ, सिक्किम, मिरिक, कालेबुङ, चारखोल लगायत विभिन्न ठाउँहरूका सॉंस्कृतिक टोलीहरूले कार्यक्रममा गुरूङ जातीय घॉंटु, कौड़ा, सोरठी जस्ता सॉंस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। अधिवेशनको अवधि संगठनको मुखपत्र छ्याजालो’-को पनि अतिथिहरूको बाहुलीबाट विमोचन गरियो। भारतीय गुरूङ(तमु) संगठनले यस प्रथम राष्ट्रिय महाधिवेशनको छेक पारी प्रकाशित गरेको यस समसामयिक मुखपत्र छ्याजालो’-का प्रकाशक सामुएल गुरूङ रहेका छन् भने सम्पादकमा रतन गुरूङ अनि सामसोन गुरूङ रहेका छन्। कार्यक्रमबीच यसपाली माध्यमिक परीक्षामा कालेबुङ टपर बनेकी सेण्ट फिलोमिना स्कूलकी छात्रा पुजा गुरूङलाई आयोजक समितिको तर्फबाट सम्वर्द्धना जनाइयो। यस दुइ दिवसीय महाधिवेशनलाई केन्द्र गरी मेलाटारमा गुरूङ जातिका सॉंस्कृतिक साजबाज, उपयोग्य वस्तुहरू, जातीय पहिरन, खानपान इत्यादिहरू पनि प्रदर्शनीमा राखिएका छन्। यसरी नै अधिवेशनको अवधि गुरूङ जातीय भेषभूषा पहिरनको पनि प्रदर्शनी गरियो भने सॉंझमा नेपालबाट आएका अतिथि कलाकार खेमराज गुरूङ अनि उनका टोलीले रंगारंग सॉंस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा कालेबुङ लगायत सिक्किम, दार्जीलिङ, मिरिक, खरसाङ, सिलगढ़ी, डुवर्स, आसाम, कोलकाता, दिल्ली, उत्तराखण्ड इत्यादि ठाउँहरूबाट गुरूङ प्रतिनिधिहरू आएका छन्।


Powered by Blogger.