Header Ads

नेपाली सेना प्रहरीलाई पनि हेलिकोप्टरको 'खाँचो’

बीबीसी
काठमांडू : भूकम्प पीडितको उद्धार र प्रभावित क्षेत्रमा राहत पुर्याउने कामको नेतृत्व गरिरहेको गृह मन्त्रालयले ती काम गर्न हेलिकोप्टरको अभाव महसुस भएको जनाउदै भविष्यका निम्ति कम्तिमा ५ वटा विकाश क्षेत्रमा एक-एक वटा हेलिकोप्टर तैनाथ गर्ने व्यवस्था गर्नु पर्ने बताएको छ। गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले कुरा गर्दै नेपाल र सशस्त्र प्रहरीलाई पनि हेलिकोप्टर किनिदिनु पर्ने खाँचो औंल्याए। नेपाल जस्तो भौगोलिक विकटता र बसोबास रहेको मुलुकमा प्राकृतिक बिपत्तिका बेला उद्धार र राहतका निम्ति हेलिकोप्टर निकै प्रभाबकारी हुने गरेको अनुभब अधिकारीहरुको छ। गत वैशाख ११को भूकम्पको सामना जेनतेन गरेको गृह मन्त्रालय गत साताको भूकम्पका पीडितको उद्धारका निम्ति अझै संघर्षरत छ। भूकम्पबाट अति प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले लगातार गृह मन्त्रालयसँग हेलिकोप्टरको माग गर्ने गरेको पाइन्छ, तर गृहलाई भनेको समयमा हेलिकोप्टर पठाउन सकस परिरहेको देखिन्छ।

‘सहज राहत’
सो मन्त्रालयमा उद्धार एवं राहतको नेतृत्व गरिरहेका सहसचिव एवं प्रवक्ता लक्ष्मी ढकालले कम्तीमा पनि पाँच वटा विकास क्षेत्रहरुमा एक-एक वटा हेलिकोप्टर तैनाथ राख्न सके विपदको बेला राहत पुर्याउन सहज हुनसक्ने बताए। उनले भने, “एम-आइ-१७ जस्ता ठूला हेलिकोप्टरहरु भएमा हामीलाई विपदको बेला राहत पुर्याउन सहज हन्छ, तर त्यो नभइरहेको हुँदा हेलिकोप्टरको कमी महसुस गरि राखिएको छ।” गत साता अचानक हराएर दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकोप्टरको खोजी कार्यमा नेपाली सेनाका केहि हेलिकोप्टर केन्द्रित हुनु पर्दा गृह मन्त्रालयलाई थप अभाव खड्किएको बुझिन्छ। जबकी सरकारी हेलिकोप्टर नेपाली सेनासँग मात्र छ र निजि हेलिकोप्टर भाडामा लिने प्रक्रिया लामो छ। त्यसैले अन्य दुई सुरक्षा निकायलाई पनि हेलिकोप्टरको खाँचो रहेको सहसचिव लक्ष्मी ढकालको भनाइ छ।

‘पाठ’
“यत्रो विपद आयो यसबाट सबैले पाठ सिक्नु पर्छ नेपाली सेना जस्तै हाम्रा अन्य सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि हेलिकोप्टर र अन्य ठूला उपकरण हुन आवश्यक छ।” ढकालका विचारमा सेना सँग भएका बिग्रिएका हेलिकोप्टरहरु मर्मत गरिए विपदको बेला तीनको समेत प्रयोग गर्न सकिन्छ। यद्यपी अर्धसैन्य बलको रुपमा सशस्त्र प्रहरी फौजको गठन र सशस्त्र द्वन्द्वकालमा प्रहरीलाई आधूनिक हतियार दिन खोज्दा तत्कालीन शाही नेपाली सेनाले अप्रसन्नता व्यक्त गरेको र एक हदसम्म बाधा पुर्याउन खोजेको अनुभव पूर्व मन्त्रीहरुले सुनाउने गरेका छन्। काठमाण्डूस्थित हाम्रा सम्बाददाता शरद केसी भन्छन्, “त्यस्तो विगतका माझ प्रहरीको निम्ति हेलिकोप्टर किनिदिनु पर्ने गृहको आकांक्षा नेपाली सेनाको वर्तमान नेतृत्वको निम्ति रुचिकर हुने वा नहुने प्रष्ट छैन।”


Powered by Blogger.