Header Ads

नेपाली र भारतीय बाँदरबीच भव्य समारोहमा बिहे

एक जोडी बाँदरको बिहेमा आयोजना गरिएको भव्य समारोहमा झण्डै ३ सय जना गाउँलेहरु उत्साहपूर्वक सहभागी भए । बेहुलो नेपाली मूलको र बेहुली खाँटी भारतीय। गत सोमबार साँझ भएको विवाह समारोहमा भाले बाँदर अर्थात् बेहुलोलाई पहेँलो टिसर्ट पहिराइएको थियो भने बेहुली अर्थात् पोथी बाँदरलाई सुन्तला रंगको फ्रक। १३ वर्षको बेहुलोको नाम रामु हो भने बेहुलीको नाम रामदुलारी। भारतको बिहारस्थित बेतियाका बासिन्दा उदेश महतोले आफ्नो घरमा पालेका दुइ बाँदरबीच बिहे गराइदिए। दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका उदेशले घरमा पालेको बाँदरलाई आफुले आफ्नो जेठो छोरोको रुपमा माया गर्ने गरेको बताउँछन्। बेहुलो रामुलाई ७ वर्षअघि उदेशले नेपालबाट लगेका थिए। बेहुली रामदुलारीलाई भने उनले २ वर्षअघि गाउँमै २५ सय भारुमा खरीद गरेका थिए। 

सुरुमा ती भालेपोथी बाँदरलाई घरमा पाल्दा खासै नमिल्ने गरेको भएपनि पछि भने उनीहरुले एक अर्कालाई मन पराउन थालेको हुँदा आफुले ती दुइबीच बिहे गरिदिएको उदेश बताउँछन्। बिहे समारोहमा बेहुला बेहुलीलाई फूलले सजाइएको गाडीमा राखेर घुमाइएको थियो । स्थानीय पुजारी सुनिल शास्त्रीले हिन्दु परम्परा अनुसार रामु र रामदुलारीको बिहे गराइदिए। सुरुमा आफुलाई बाँदरको बिहे गराउन असजिलो तथा अनौठो लागेको भएपनि महतोको प्रतिबद्धता देखेपछि आफुले बिहेको राम्रो लगन हेरेर बिहे गराइदिएको उनको भनाइ छ। रामु र रामदुलारीको बिहेको लागि कार्ड समेत छपाइएको थियो र बिहे समारोहमा बाजा बजाउन ब्याण्डलाई निम्ताइएको थियो। साथै समारोहमा बोलाइएका पाहुनाहरुलाई भोजको समेत आयोजना गरियो। बिहेपछि सांग्लोले बाँधिएका रामु र रामदुलारीलाई स्वतन्त्र विचरण गर्न दिइएको छ। स्मरण रहोस् भरतको उडिसानामा ६ वर्षअघि पनि यसैगरी दुइ बाँदरको बिहे गराइएको थियो।





 - एजेन्सीहरु


Powered by Blogger.