Header Ads

हंगकंगका प्रमुख कार्यकारीको अडान कायमै

राजीनामाका लागि व्यापक दबाब झेलिरहेको भनिएका हंगकंगका प्रमुख कार्यकारी सी वाई लियुङ्गले आफ्नो पदबाट राजीनामा नदिने दोहोर्याएका छन्। तर प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरुलाई वार्तामा आउन उनले आह्वान गरेका छन्। प्रदर्शनकारी नेताहरुले प्रमुख कार्यकारी लियुङ्गद्वारा गरिएको वार्ता प्रस्तावको स्वागत गरेका छन्। यद्यपि लियुङ्गले राजीनामा दिनुपर्ने उनीहरुको अडान कायमै छ।

घेराउ
प्रदर्शनकारीहरुले दुईवटा सरकारी भवनहरु घेराउ गरेका छन्। तर त्यसमाथि कब्जा नजमाउन उनीहरुलाई सरकारले चेतावनी दिएको बताईएको छ। बिहिबार मध्यरातिसम्म राजीनामा दिनुपर्ने प्रदर्शनकारीहरुद्वारा तोकिएको समयसीमा सकिनु केही समयअघि आयोजित पत्रकार सम्मेलनमा लियुङ्गले सरकारी भवनहरु नियन्त्रणमा लिने प्रयास गरिए त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनी दिए। उनले सरकारका मुख्य सचिवले छिट्टै प्रदर्शनकारी विद्यार्थी नेताहरुसँग वार्ता सुरु गर्ने बताए। विद्यार्थी संगठनले सरकारका मुख्य सचिवसँग वार्तामा बस्ने भन्दै बिहिबार राति खुला पत्र पठाएको लियुङ्गले जनाए।

जिम्मेवारी
आफूले उक्त पत्रको विस्तृत अध्ययन गरेको भन्दै लियुङ्गले विद्यार्थी संगठनका प्रतिनिधीहरुसँग संवैधानिक विकासका विषयमा वार्ता गर्नका लागि मुख्य सचिवलाई जिम्मेवारी दिन लगाएको बताए। निर्वाचनसम्बन्धी कामलाई निरन्तरता दिनुपर्ने भन्दै उनले पदबाट राजीनामा नदिने दोहोर्याए। हंगकंगमा सन् २०१७ मा हुने निर्वाचनका लागि चीनले उम्मेद्वार छान्ने योजनाको उनीहरुले विरोध गर्दै आएका छन्। प्रदर्शनकारीहरुले हंगकंगमा पूर्ण प्रजातन्त्र हुनुपर्ने माग गरेका छन्।
Powered by Blogger.