Header Ads

नेपाल बन्यो डिभिजन थ्री क्रिकेट च्याम्पियन

क्वाललाम्पुर । युगाण्डालाई पराजित गर्दै नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि रक्षा गरेको छ । बिहीबार भएको उपाधि भिडन्तमा नेपाली व्याट्सम्यान र बलर दुबै चम्किएपछि नेपाले युगाण्डालाई हराउँदै लगातार दोस्रो पटक उपाधि मात्र जितेन, समूह चरणमा व्यहोरेको हारको मिठो बदला समेत लिएको छ । समूह चरणको पहिलो खेलमा नै नेपाल युगाण्डासँग २० रनले पराजित भएको थियो । तर, त्यसपछि सबै खेल जितेको नेपाल फाइनलमा पनि सफल रहृयो । उसो त युगाण्डाले भने अघिल्लो पटक कै नियती व्यहोरेको छ । अघिल्लो पटक डिभिजन थ्रीमा पनि नेपाल समूह चरणमा युगाण्डासँग हारेपनि फाइनलमा उसैलाई हराएर उपाधि जितेको थियो । किनरारा ओभलमा टस जितेर व्याटिङ थालेको नेपालले नरेश बुढायर, सागर पुन र ज्ञानेन्द्र मल्लको अर्धशतकको मदतमा ४९.५ ओभरमा सबै विकेट गुमाएर २२३ रन बनायो। नेपालले उत्कृष्ट निकै सुरुवात गर्‍यो। ओपनस सुवास खकुरेललाई आराम दिएर सागर पुनलाई नरेश बुढायरसँग ओपनिङमा खेलाइएको थियो, जुन निकै सफल समेत रहृयो।

सागर र नरेशले पहिलो विकेटका लागि १०७ रनको साझेदारी गरे, जुन पहिलो विकेटका लागि प्रतियोगिताकै दोस्रो ठूलो साझेदारी हो भने नेपालको सबैभन्दा बढी। नेपालको स्कोर २०७ रन हुँदा नरेश अर्धशतक पूरा गरेर पहिलो विकेटका रुपमा पभेलियन फर्किए । ७३ रनको साझेदारी गरेका उनले दुई चौका र एक छक्काको मदतमा ५१ रन बनाए। नेपालले थप २४ रन जोड्दा सागर पुन आउट भए। ८७ बलमा ५ चौकाको मदतमा अर्धशतक पुरा गरेका उनी ६४ रनमा पभेलियन फर्किएका हुन्। सागरपछि अर्धशतक पूरा गरे उपकप्तान ज्ञानेन्द्र मल्लले। ६५ बलमा अर्धशतक पूरा गरेका ज्ञानेन्द्र व्यत्तिगत ६५ रनमा आउट हुँदा नेपालले ४७.२ ओभरमा २०८ रन बनाएर कुन पाँच विकेट गुमाएको थियो। बाँकी १५ रन जोड्दा नेपालले बाँकी ५ विकेट गुमायो । थप १/१ रन जोड्दा आरिफ शेख र बसन्त रेग्मी आउट भए । ४९.२ ओभरमा सोमपाललाई गुमाएको नेपालले थप एक रन जड्दा शक्ति गौचन र मेहबुब आलमलाई गुमाएको थियो। नेपालका मध्य तथा तल्लो क्रमका व्याट्सम्यानको विकेट लिने क्रममा युगाण्डाका मुसाका चम्किए । उनले मात्र ३.५ ओभरमा २७ रन दिएर नेपालको ६ विकेट लिएका थिए। 

२२४ रनको लक्ष्य पछ्याएको युगाण्डा ४४.१ ओभरमा १६१ रन जोड्दा अलआउट भयो । मध्यम सुरुवात गरेको युगाण्डाको पहिलो विकेटका रुपमा १७.६ ओभरमा कयोबीलाई शक्ति गौचनले विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गलाए । १९ औं ओभरको पहिलो बलमा नै बसन्त रेग्मीलाई नेपाललाई दोस्रो सफलता दिलाए। उनले बगेण्डालाई ज्ञानेन्द्रको हातबाट क्याच गराए भने थप ३ रन जोड्दा सेलावे पनि पभेलियन फर्किए पछि युगाण्डा दबावम आयो । ५ विकेटको क्षतिमा ९२ रन बनाएको युगाण्डाको पारी मुसाकाले सम्हाल्ने प्रयास गरे । आक्रमक व्याटिङ गरेका उनले नेपाली बलरहरुलाई दबाव दिँदै युगाण्डालाई खेलमा फर्काउने राम्रो संकेत दिए। तर, ३८.१ ओभरमा सोमपाल कामीले कप्तान नुसुबुगालाई बोल्ड गरे भने ४१.४ मा भुवन कार्कीले मुकासाको विकेट लिएपछि नेपाल जिततर्फ उन्मुख भयो। ४३ औं ओभरमा दुई विकेट गुमाएको युगाण्डाको अन्तिम विकेटका रुपमा मुहुमुजालाई बसन्तले विनोदको हातबाट क्याच गराएपछि नेपालको ६२ रनको जित हात पारेको छ।

च्याम्पियन क्रिकेट टीमलाई प्रधानमन्त्रीको बधाइ
काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले मलेशियामा सम्पन्न आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेकोमा नेपाली टीमलाई बधाइ दिएका छन्। कोइरालाले कप्तान पारस खड्कालाई टेलिफोन गरी सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट कप्तान, समस्त खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन्। उनले यस सफलताले नेपाली क्रिकेट टीमलाई आउँदा दिनमा अझ उत्कृष्ट खेल प्रदर्शन गरी क्रिकेटमा सर्वोपरी स्थान हासिल गर्ने सफलता मिलोस् भन्ने शुभकामना दिएका छन्। प्रधानमन्त्री कोइरालाले नेपाललाई डिभिजन टु मा पुर्‍याएर नेपाली क्रिकेट टीमले राष्ट्रिय गौरव बढाएको बताएका छन्। अन्तराष्ट्रिय खेल जगतमा नेपालको राष्ट्रिय झण्डा उचो बनाएर नेपालीको शान र मान अभिवृद्धि गराउने समस्त खेलाडी र प्रशिक्षकप्रति आफूलाई गर्व लागेको पनि उनले बताएका छन्।

डिभिजन थ्रीको उपाधि एकदिवसीय मान्यता पाउने बाटो : पारस
च्याम्पिन नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि एदिवसीय मान्यता पाउने बाटो भएको बताएका छन्। युगाण्डालाई ६२ रनले हराउँदै च्याम्पिन बनेपछि अनलाइनखबरसँग कुरा गर्दै उनले टीमका सबै सदस्यको मेहनत र लगशीलताका कारण उपाधि जित्न सफल भएको बताएका छन्। पहिलो खेल हारेपछि टीमका सबै सदस्यले आफ्नो स्तर बढाएको र फाइनलमा राम्रो क्रिकेट खेलेको भन्दै उनले भने-यसमा हरेक खेलाडीको उत्तिकै भूमिका छ।’ सबै खेलाडीले चाहिएको बेला महत्वपूर्ण भूमिका निर्बाह गरेका भन्दै उनले भने-‘हामीलार्इ थाहा छ कि यो एकदिवसीय मान्यता पाउनका लागि बाटो हो।
इन्टरकन्टिनेन्टल कप र विश्वकपको पनि । हामी त्यहाँ पुग्न चाहन्छौं र त्यसका लागि हामी हाम्रोतर्फबाट सक्दो गरिरहेका छौं।’ उनले अब डिभिजन टूमा केन्द्रित हुने बताए। उनले व्याटिङमा नेपालको टप अडर चलेकोमा खुसी व्यक्त गरेका छन्। कप्तान पारसले समर्थकहरुको पनि खुलेर प्रशंसा गरे । उनले भने-‘फ्यानहरु हाम्रा लागि निकै महत्वपूर्ण छन्। आफ्नो काम छोडी छोडी ग्राण्डउमा आएर हामीलाई हौसला दिनु भएकोमा अत्यन्तै खुसी छौं ।’ उनले भविश्यमा पनि नेपाली क्रिकेट टीममा यस्तै साथ पाउने विश्वास व्यक्त गरे। प्रशिक्षक पुवुदु दशानायकेले प्रतियोगितामा सबै खेलाडीले राम्रो प्रदर्शन गरेको बताए। डिभिजन थ्रीको ट्रफी देखाउँदै उनले भने-‘उपाधि नेपाल लान पाएकोमा म अत्यन्तै खुसी छु।’ अहिलेसम्मको नेपाली खेलाडीले उत्कृष्ट प्रदशन गरेको भन्दै उनले आगामी दिनमा राम्रो गर्दै जाने विश्वास व्यक्त गरे।


Powered by Blogger.