Header Ads

खतरनाक युद्धविरामको घोषणा : नेपाली कविताहरु


कविको कलम खतरनाक
कि कलमबाट निस्कने अक्षरहरू खतरनाक?
अक्षरहरूले बनाउने शब्द खतरनाक
कि शब्दहरूले बनाउने वाक्य खतरनाक?

वास्तवमा कविता त्यति खतरनाक पनि हुँदैन
तर जब तिमी कविताको अर्थ निकाल्न खोज्छौ
र बनाउछौ एउटा मजबूत सुरक्षा पर्खाल
त्यही जन्मिन्छ एउटा खतरनाक कविता।

मान्छेको आलो रगत चाटेर
खुला चोकमा नाँचिरहेको हतियारलाई
‘अहिंसा परमो धर्म’ लेखिएको एउटा सुन्दर दाप थमाएर
बौद्धगयातिर हिँडेका थिए कविहरू।
समवेदनाको चौडादार छात्तीमा एउटा तातो बुलेट कोचरेर
दोबाटोमा सुस्ताइरहेको बन्दूकलाई
एक थुङ्गा फूल उपहार दिएर
शान्ति सम्मेलनतिर हिँडेका थिए कविहरू।

तिमी युद्धको उन्मादमा थिएछौ
रातभरि आफ्ना कुमारी हतियारहरूसँग सुतेर
जब तिमी कविताको शिकार खेल्न निस्कियौ
त्यो साँझदेखि कविहरू बौद्धगयाबाट फर्केका छैनन्
न शान्ति सम्मेलनका नयाँ प्रस्तावना सुनाउन चोकतिर नै निस्केका छन्।

यो बेला खतरनाक हुँदो रहेछ कविता
गोरिल्ला युद्धको तयारीमा लागेको छापामार दस्ताको नेताजस्तो कविले
कोटको भित्री खोजीमा हाल्दा रहेछन् विचारको धारिलो हतियार
र लेख्दा रहेछन एउटा युद्धकविता।
कविहरू, अक्षरको बारूद खादेर बनाउँदा रहेछन् कविताबम
र पड्काउँदा रहेछन् जडसत्ताको केन्द्रीयकार्यालय।

विचारको यो भिडन्तमा मरेका छन् केही शक्तिशाली कविहरू
चिरिएका छन् केही बलिया कविताहरूको छात्ती।
बाँचेका केही खतरनाक कविताहरूले लडिरहेका छन् न्यायको युद्ध
कविहरू युद्धमैदानमै उभेर लेखिरहेछन् केही नाराजस्ता कविताहरू
कि संसारमा गरिबले पनि खान पाउन् सञ्चोले एकछाक भात
आनन्दले बस्न पाउन् एक छाप्रो वास
अथवा हाइसुखले ओड्न पाउन् एक झुम्रो कपास।

भोकको सौन्दर्यशास्त्र पढेर कविताहरूले लेखिरहेका छन एउटा जङगी गीत
कविहरूले सत्ताको मुखमा गरप गरप टेकेर
सामवेत स्वरमा गाइरहेका छन् युद्धको गीतापाठ
”यदा-यदा हि धर्मस्य ग्लानिर्भवति भारत.....’

यतिखेर, यदि तिमी चहान्छौ भने
कि कविहरू फेरि फर्किउन् बौद्धगयातिर र उडाउन् शान्तिको सेतो कविता
कविहरू फेरि धाउन् शान्तिसम्मेलनतिर र थपुन् बन्धुत्वको नयाँ प्रस्तावना,
पृथ्वीको मुटु कोपरेर तिमीले बनाएका जम्मै दागहरू मेटेर आऊ
आफ्ना जम्मै हतियारहरू सातवटा भोका समुन्द्रहरूलाई दान दिएर आऊ|

तिमी आउँदा मुट्ठी खोलेर आउनू
कि हतियारहरूलाई तिमीमाथि कुनै शंका नहोस्
तिमी आउँदा आँखामा विश्वास बोकेर आउनू
कि बन्दूकहरूलाई आत्मग्लानि नहोस्।

तिमीले देखायौ कुनै बइमानी
या अपनायौ कुनै चालाकी भने
बस् यति चैँ याद राख
कि म गर्नेछु
युद्धभन्दा पनि खतरनाक युद्धविरामको घोषणा।

- प्रदीप लोहागुण
Powered by Blogger.