Header Ads

सुशील कोइराला र नरेन्द्र मोदीबीच न्यूयोर्कमा भेटवार्ता

न्यूयोर्क : भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । शनिबार न्यूयोर्कस्थित न्यूयोर्क प्यालेस होटलमा भएको भेटवार्तामा दुइदेशको आपसी सम्बन्ध, सार्क सम्मेलनको तयारी, भारतीय सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना लगायतका विषयमा छलफल भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । प्रधानमन्त्री कोइरालाले भने आफू स्वस्थ भैसकेको बताएका थिए । वार्ताका अवसरमा प्रधानमन्त्री कोइरालाले भारतीय प्रधानमन्त्रीको गत साउनमा सम्पन्न नेपाल भ्रमण पछि द्धिपक्षीय सम्बन्धमा नयाँपन आएको बताए ।

उनले भ्रमणकालमा भएको समझदारी अनुरुप नै डेढ महिनाभित्र विद्युत व्यापार संझौता र माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको लागि भारतीय कम्पनी जीएमआरसंग लगानी बोर्डले आयोजना विकास संझौता गरिसकेको जानकारी गराए । प्रधानमन्त्री कोइरालाले नेपाल लगानीको लागि अनुकूल बन्दै गएको पनि उल्लेख गर्नुभयो । भारतीय प्रधानमन्त्री मोदीले सार्क शीखर सम्मेलनको तयारीका सम्बन्धमा पनि चासो व्यक्त गरेका थिए । वार्तामा सहभागी परराष्ट्रमन्त्री महेन्द्र पाण्डे र पाण्डेका भारतीय समकक्षी शुषमा स्वराजले सार्कको शीखर सम्मेलनको तयारीका बारेमा माल्दीभ्समा सम्पन्न मन्त्री स्तरीय बैठकमा विशेष छलफल भएको जानकारी दुवै प्रधानमन्त्रीलाई गराएका थिए । भारतीय प्रधानमन्त्री मोदीले सार्क सम्मेलनको अवसरमा जनकपुर र लुम्बिनीको भ्रमण गर्ने रहर पुरा हुने विश्वास पनि व्यक्त गरेका थिए । संयुक्त राष्ट्र्संघको ६९ महासभालाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री शुक्रबार न्यूयोर्क पुगेका हुन् । कोइराला शनिबार बिहान महासभालाई सम्बोधन गरिसकेका छन् ।
  
कोइरालाले भने- विश्व शान्ति स्थापना गर्न नेपालले भूमिका खेल्छ
प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनलाई भेटेर विश्व शान्ति स्थापनाका लागि नेपालले महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । शनिबार संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा भएको भेटवार्तामा कोइरालाले जलवायु परिवर्तनबाट मानिस र प्रकृतिमा परेको असर न्यून गर्ने सन्दर्भमा महासचिव स्वयम्ले चासो दिएर जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । प्रधानमन्त्री र महासचिव मुनबीच नेपालको संविधान लेखन, शान्ति प्रक्रिया, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन तथा विश्व शान्तिस्थापना कार्यमा नेपालले पुर्‍याउँदै आएको योगदानका बारेमा छलफल भएको थियो । सो अवसरमा महासचिव बानले नेपालको राजनीतिक सङ्क्रमणको व्यवस्थापनका लागि प्रधानमन्त्री कोइरालाले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । विश्व शान्ति स्थापना कार्यमा नेपालले गरेको योगदानको सह्राना गर्दै उनले शान्ति स्थापनामा कार्यमा नेपाली सुरक्षा फौजले साहसिक र व्यावसायिक प्रदर्शन गरेको बताए । नेपालको शान्ति प्रक्रिया र संविधान लेखनले छिटोभन्दा छिटो निष्कर्ष पाउने विश्वास व्यक्त गर्दै महासचिव बानले आफूले शान्त र समृद्ध नेपाल देख्न चाहेको बताएका थिए । प्रधानमन्त्री कोइरालाले महासचिव बानलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

- onlinekhabar

Powered by Blogger.