Header Ads

आफ्नै जाति विरुद्ध आफ्नै अनुहार? धिक्कार! धिक्कार!

स्वामी स्वदेशानन्द(कनकधारा गुरुजी)
हाम्राहरू भूटानबाट खेदिए, असमबाट खेदिए। मणिपुर र मेघालयबाट खेदिएको आलो घाउ सुकेकै छैन। समय- समयमा बोड़ोहरूको शिकार भइरहेकै छन् हाम्राहरू। इष्ट इण्ड़िया कम्पनी मार्फत् पंजाबको उत्तरी भाग,हिमाचल प्रदेश, गढ़वाल, दार्जीलिंग र हिजो अस्ति सम्म गरेर सिक्किमसहित नेपालको सर्वाधिक माटो भारतलाई दिएर पनि हामी भारतीय हुनसकेनौं। हाम्रो माटो भारतीय भयो तर हामी त्यस माटोका मान्छे सधैं विदेशी भयौं। हाम्रो भाषाले भारतीय संविधानमा दर्ता पाएको हो, हाम्रो जातिले हैन। भारतका पूर्वोत्तर राज्यमा बसोवास गर्ने थुप्रै जाति-जनजाति( मिजो, नागा,खासी, गारो, कार्बी, बोड़ो, डिमासा आदि) को भाषा भारतीय संविधानमा दर्ता भएको छैन तर तिनीहरूको जाति दर्ता भएको छ। भाषा भारतीय भयो भन्दैमा जाति हुँदैन भन्ने कुरालाई हाम्रा थर र जातकाहरूले भने बुझेका छैनन्। भारतमा अंग्रेजी राखेर अंग्रेजलाई खेदिएको थियो। भूटानमा नेपालीभाषी जातिमाथि भएको अत्याचार र उच्छेदलाई नदेख्ने, भारतमैं नेपालीभाषी जाति समूहमाथि भएको अत्याचारलाई नदेख्ने तर तिब्बतीमाथि चीनद्वारा भएको अत्याचार देख्ने, पाकिस्तानमा हिन्दूमाथि भएको अत्याचार देख्ने, बंगलादेशमा हिन्दूमाथि भएको अत्याचार देख्ने तथाकथित हिन्दू तर वास्तविकतामा भारतीय मधेशी जाति समूहको मात्र हितचिन्तन गर्ने भारतीय मधेशवादी संगठनका शाखा-प्रशाखाका अनेपाली अनुहारहरूले नेपाली संस्कृतिको सुरक्षा गर्लान् त?

विश्वका हिन्दूहरूको मात्र हित गर्ने भनेर खोलिएको विश्वहिन्दू परिषद् नामक संगठन र त्यसको माउ संगठन संघ परिवारले आजसम्म आफ्नो एजेन्ड़ामा भूटानबाट खेदिएका नेपालीहरूले भूटान जान पाउनुपर्छ भनेको छैन। भूटानका हिन्दूहरू नेपालीभाषी हुन्। यदि भारतीय मधेशी हिन्दूमाथि भूटानमा अत्याचार हुन्थ्यो भने संघ परिवार अवश्य बोल्नेथियो। भारतका हिन्दूहरूले मात्र भूटानका नेपालीहरू हिन्दू हुन्, उनीहरूलाई हामी सपोर्ट गर्छौं भनेका थिए भने अथवा भारतका हिन्दूवादी संगठनले भोटाङे नेपालीले भूटान जान पाउनुपर्छ भनेर साथ दिएका थिए भने आज नेपालको शरणार्थी शिविरमा बस्ने नेपालीभाषी समुदाय तेस्रो मुलुकमा र शरणार्थी शिविरमा नभएर भूटानका आ-आफ्नै घर-बारीमा हुनेथिए।

नेपालीभाषी जाति समूहलाई अनेपालीभाषी जाति समूहले संस्कृति जस्तो कुनै पनि जातिसंग सम्बन्धित अत्यन्त संवेदनशील कुराहरू सिकाइरहनुपर्छ र? विश्वभरि छरिएर बसेका नेपालीहरू आफ्नो संस्कृति र सभ्यता मनाउन खप्पिस छन्। कुनै पनि सभ्य बिहारीलाई उसको संस्कृति कुनै नेपालीले सिकाएको मन पर्ला र ? केही वर्ष यता भारतीय मधेशवादी संगठनहरूको संजालमा परेर हाम्रै जात र थरकाहरूको बुद्धिमा बिर्को लागेको हुँदा नेपाली संस्कृतिको नाउँमा भारतीय राजनैतिक दलहरूको उन्माद सृष्टि गरेर भारतका छिमेकी राष्ट्रहरूको विरुद्ध नेपालीभाषी जाति समूहलाई लड़ाउने एउटा षड्यन्त्र चलिरहेको छ भने हाम्रै थऱ र जातिका नाइकेहरू चाहिँ आफ्नै जातिलाई मास्ने जातिविरोधी कार्यमा संलग्न भइरहेका छन्। हाम्रा मुखौटाहरू देखि हामी सावधान हुनुपर्ने बेला आएको छ।

Powered by Blogger.