Header Ads

अर्जेन्टिना र नेदरल्याण्ड्स सेमी फाइनलमा

बीबीसी 
विश्वकपको एक कडा प्रतिस्पर्धामा कोस्टारिकालाई पेनाल्टी शुटआउटमा पराजित गर्दै नेदरल्याण्ड्स चौथो सहभागितामा तेस्रो पटक सेमिफाइनलमा प्रवेश गरेको छ। अर्को खेलमा बेल्जियमलाई १–० ले पराजित गर्दै अर्जेन्टिना २४ वर्षपछि विश्वकपको अन्तिम चारमा पुगेको छ। यो संगै विश्वकपमा पुग्ने अन्तिम चार राष्ट्रको छिनोफानो भएको छ, जहां विश्वकपका उच्च राष्ट्रहरु ब्राजील, अर्जेन्टिना, नेदरल्याण्डस् र जर्मनी नै अगाडि आएका छन् । ब्राजील र अर्जेन्टिना संगसंगै फाइनलमा पुगेको यो पहिलो पटक हो ।

पेनाल्टीका नायक

खेल पेनाल्टी शुट आउटमा पुग्ने देखिएपछि नेदरल्याण्डसका प्रशिक्षक लुइस भान गालले समय सकिनु ४४ सेकेन्ड अगाडि वैकल्पिक गोलकिपर टिम क्रुललाई मैदानमा छिराएका थिए। कहिल्यै मैदानमा नदेखिएका नयाँ खेलाडीलाई तनावपुर्ण परिस्थितमा एक्कासी टाइब्रेकरको जिम्मा दिनुलाई प्रशिक्षक भान गालको चुनौतिपुर्ण निर्णय भनिएको थियो। तर न्युक्यासल युनाइटेड क्लबबाट खेल्ने यी २८ वर्षिय गोलकिपर नेदरल्याण्ड्सका नयाँ नायक बने। उनले दुई पेनाल्टी प्रहार बचाएपछि टोलीले कोस्टारिकालाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउदै विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो।

'लुकाएको हतियार'
नेदरल्याण्ड्सका प्रशिक्षक भान गालको यो निर्णयलाई बहादुरी र गोलकिपर टिम क्रुललाई लुकाइ राखेको हतियार भनिएको छ। बीबीसीका केभिन किल्बानेले भनेका छन् : यो उनको शाहसिक निर्णय हो। थोरैले मात्र यस्तो आँट गर्ने गर्छन् । निर्धारित समय र थपिएको आधा घण्टाको खेल भने नेदरल्याण्ड्सको आक्रमण र कोस्टारिकाको रक्षात्मक नीतिबीचको युद्ध जस्तै देखिएको थियो। जसमा नेदरल्याण्ड्सको तीनवटा प्रहार विपक्षी पोष्टमा लागेर फर्किएको थियो। केही सुनौलो अवसर मध्य अमेरिकी टोलीले पनि पाएको थियो।

इतिहास
तर इतिहास रच्ने थप अवसरको उनीहरुले सदुपयोग गर्न सकेनन्। इग्लैण्ड, इटाली र उरुग्वेको समुह चरण पार गरेर कोस्टारिका पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको हो। विपक्षीलाई रोक्ने कोस्टारिकाको योजना सफल देखिएपनि टाइब्रेकरसम्म लम्ब्याएको खेल भने जित्न सकेन। नेदरल्याण्ड्सले सेमिफाइनलमा अव अर्जेन्टिनासंग खेल्नेछ। अर्जेन्टिना बेल्जियमलाई १-० ले हराउदैं २४ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको हो ।

म्याराडोनाको बाटो
खेल शुरु भएको आठौं मिनेटमा स्ट्राइकर गोन्जालो हिगुइनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जारी विश्वकपमा उनको यो पहिलो गोल समेत हो। साथै उनले विश्वकपमा मेसीले गरेको ५ गोलको बराबरी पनि पुर्याएका छन्। लियोनेल मेसीको भरमा अगाडि बढेको भनी आलोचना भइरहेको अर्जेन्टिनी टोली बेल्जियम विरुद्ध भने संगठित देखिएको थियो । यद्धपी पहिलो गोलमा मेसीको आकर्षक बाँया खुट्टाको जादुले भने सहयोग गरेको थियो। उनले मैदानको मध्य भागबाट एन्जल डी मारियालाई बल मिलाइदिएका थिए। मारियाले दिएको पास विपक्षी रक्षकको खुट्टामा ठोक्किएर हिगुइनको सम्पर्कमा पुगेपछि उनले बललाई सिधै पोष्टमा आक्रमण गरेका थिए। यसपालीको रहस्यमय टोली भनिएको बेल्जियम अर्जेन्टिनासंगको खेलमा भने असंगठित र अन्योलमा देखिएको थियो। खेलाडीहरुले खेलको अन्त्यतिर मात्र सम्झन लायकको एउटा प्रहार गरेका थिए।


प्रशंसा

खेलमा अर्जेन्टिनाका क्याप्टेन लियोनेल मेसीको खेल कलाको भने खुवै प्रशंसा भएको थियो । उनले मध्यान्तर अगाडि प्रहार गरेको फ्री किक पोष्ट नजिक हुंदै बाहिरिएको थियो। खेल सकिनै लाग्दा पाएको काउन्टर एट्याकको सुनौलो अवसर भने उनले सदुपयोग गर्न सकेनन्। अर्जेन्टिनी प्रशिक्षक एलेजान्द्रो साबेलालले पनि मेसीको प्रदर्शनलाई मरुभुमीमा पानी भनी प्रशंसा गरेका छन्। 

साबेलाले भने, उनको खुट्टामा बल परेपछि कमै मात्र गल्ती हुने गर्दछ। संघर्षको बेला उनी भिन्न देखिन्छन्। दुई दशकपछि टोलीलाई दिलाएको सफलतासंगै मेसीलाई अर्जेन्टिनाका महान खेलाडी म्याराडोनासंग दांजिन थालेको छ। यहि खेलबाट उनले म्याराडोनाले राष्ट्रिय टोलीबाट खेलेको ९१ खेलको बराबरी गरेको छ। बाँया खुट्टाबाट जादुमय तरिकाले बल खेलाउने यी दुईमा म्याराडोनासंग विश्वकप उपाधी हुनु मात्रको भिन्नता देखिएको छ। बांकी तुलनामा मेसी नै अगाडि देखिएका छन्। संयोग के छ भने सन् १९८६ मा म्याराडोनाले नेतृत्व गरेको अर्जेन्टिनाले बेल्जियमलाई नै सेमिफाइनलमा हराएको थियो र त्यसवर्ष विश्व विजेता बनेको थियो। विश्वकपको लक्ष्य नजिक पुगेको अर्जेन्टिनाले यसपाली पनि बेल्जियमलाई हराएको छ ।

Powered by Blogger.