Header Ads

ब्राजिललाई यसरी डुबाउन सक्छ विश्वकपले

-म्याट स्लटर, जान्ना रेम्स 
आर्थिक, भौतिक तथा मानसिक रुपले तयार होस् नहोस् तर दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले विश्वभरका खेलप्रेमीलाई स्वागतको कार्पेट बिच्छ्याएको छ । विश्वकप जुलाइमा सकिएसँगै ब्राजिलले फेरि सन् २०१६ मा हुने गि्रष्मकालीन ओलम्पिक खेलकूदको समेत तयारी सुरु गर्नेछ । भलै खेलकुदको कुम्भमेलाले विश्व अर्थतन्त्रमा उल्लेखनीय अवरोध सिर्जना गरेको मात्र छैन, ब्राजिलको भविष्यको आर्थिक वृद्धि तथा सम्वृद्धि समेत भत्काइरहेको छ । खेलकूदको नाममा खन्याएको धनका कारण ब्राजिलले सम्वृद्धिको दिशामा एकसाथ हिँडिरहेको विश्वपरिवेशमा आफुलाई पछाडि छुटाउने जोखिम मोलेको छ । 

विश्वको सातौं ठूलो अर्थतन्त्र 
कमोडिटी मार्केटको अचाक्ली वृद्धि, जनसंाख्यिक लाभ तथा बढ्दो उपभोगका कारण ब्राजिल विश्वको सातौँ ठूलो अर्थतन्त्रको रुपमा स्थापित भएको थियो । प्रतिव्यक्ति आयको हिसाबले पनि ब्राजिल अहिले विश्वमा ९५ औँ स्थानमा पर्छ । वस्तु तथा सेवाको प्रवाह, वित्त, तथ्यांक तथा सञ्चार प्रविधिको हिसाबले गणना गरिने संयोजन सूचकांकमा ब्राजिल ४३ औँ स्थानमा छ । ब्राजिलको सरकारी तथ्यांकले सन् २००३ देखि त्यहाँको गरिबी आधाले घटेको देखाएको छ । बैंकको चर्को भाउ तथा उपभोग्य वस्तुको उच्च मूल्यवृद्धिका कारण गरिबीको रेखाबाट उम्किएका धेरै सर्वसाधारणले मध्यमवर्गीय जीवनशैलीमा फड्को मार्न सकिरहेका छैनन् । आर्थिक सामाजिक जोखिममा रहेका आधाजसो मध्यम वर्गीय नागरिकको उत्थानका लागि ब्राजिलले सन् २०३० सम्ममा ४.२ प्रतिशतको कुल गाहर््रस्थ उत्पादनमा वृद्धि हासिल गर्नुपर्नेछ । यसका लागि ब्राजिलको उत्पादन वृद्धि तेब्बर पार्नुपर्ने हुन्छ । यो निकै महत्वाकांक्षी लक्ष्य हो, तथापि अप्राप्य भने छैन, यदि ब्राजिल विश्व बजार तथा बहुराष्ट्रिय उत्पादन सञ्जालमा गहिरो गरी एकीकृत हुने हो भने । एक अन्तराष्ट्रिय अध्ययन प्रतिवेदनले के देखाएको छ भने यदि विश्व बजारसँग ब्राजिलले गहिरो सम्बन्ध कायम गर्ने हो भने उसले आफ्नो वाषिर्क जीडीपीमा १.२५ प्रतिशतको वृद्धि हासिल गर्न अप्ठेरो पर्दैन । 

यो वृद्धि आत्मसात गर्दा ब्राजिलले जनताको उच्च आय तथा उच्च गुणस्तरीय जीवनयापनको लक्ष्यको एकतिहाइ सहजै हासिल गर्न सक्छ । विश्व प्रतिस्पर्धाको जाज्वल्यमान प्रभावबाट ब्राजिलले आफुलाई अलग राख्दा ब्राजिलले आवश्यक चलायमानता गुमाइरहेको अवस्था छ । जसले सर्वसाधारण ब्राजिलियनहरुमा प्रत्यक्ष नकारात्मक असर पुगिरहेको छ, फलतः पछिल्लो वर्षहरुमा ब्राजिली सर्वसाधारणको आम्दानी घट्दो छ । विश्वव्यापी संयोजनको आयाममा आमूल परिवर्तन भएको वर्तमान अवस्थामा विश्वका मूलुकहरुसँग महत्वपूर्ण सहकार्यका साथै बजार हिस्सामा समेत दाबी प्रस्तुत गर्नु आवश्यक हुन्छ । यसो गर्दा ब्राजिलले आर्थिक वृद्धिका असंख्य अवसर प्राप्त गर्न सक्छ । साथै उसले विश्वव्यापी प्रतिस्पर्धाबाट लाभ लिनुका साथै स्थानीय उद्योगको क्षमता अभिवृद्धि समेत हुन्छ । स्थानीय उद्योगधन्दाहरुमा प्रक्रिया सरलीकरण, चुस्त व्यवस्थापन, अनुसन्धान र विकाशमा लगानीका लागि अत्याधुनिक प्रविधिको अनुसरण समेत सम्भव हुन्छ । विश्व बजारमा उपस्थितिले आपूर्ति श्रृंखलालाई चलायमान बनाउनुका साथै कम्पनीहरुलाई विश्वमा सिर्जना भइरहेका नयाँ आविष्कार, प्रविधि तथा विचारलाई सश्लेषण गर्न समेत सजिलो हुन्छ । 

आर्थिक पछौटेपन र चुनौतीहरु
दशकौँसम्म ब्राजिलको आर्थिक नीति आफ्नै विशाल घरेलु बजार तथा संरक्षित स्थानीय उद्योगको दबदबामै डुब्न पुग्यो । जसका लागि सहुलियत, कर तथा शुल्क जस्ता उपाय अवलम्बन गरिए । तर, निर्यात कुल गाह्रस्थ उत्पादनको केवल १३ प्रतिशत मात्रै रह्यो । जुन भारतको २४ प्रतिशत तथा मेक्सिकोको ३३ प्रतिशत भन्दा निकै कम हो । कमोडिटी मार्केटमा खुम्चिएको प्रतिस्पर्धी क्षमताका कारण सन् २००५ देखि २०१२ सम्मको अवधिमा ब्राजिलको निर्माण क्षेत्रको व्यापारको घाटा चुलियो । निर्माण वस्तु व्यापारमा २० बिलियन नाफामा रहेको ब्राजिल ४५ बिलियन घाटामा पुग्यो । निर्यात वृद्धिका लागि ब्राजिलले औद्योगिक सीप तथा क्षमतामा बढोत्तरी गर्नु आवश्यक छ । देशमा सूचना तथा सञ्चार सञ्जालको अपर्याप्ततालेे वस्तु व्यापारमा समेत अड्चन उत्पन्न गरिरहेको छ । रेल प्रणाली पनि सीमित छ र केवल १४ प्रतिशत सडक मात्र पीच गरिएको छ । यो आश्चर्यजनक होइन, किनकि ब्राजिलको पूर्वाधारमा लगानी कुल ग्राहस्थ उत्पादनको केवल २.२ प्रतिशत मात्र छ, जुन विश्वको औषत भन्दा निकै कम हो । सेवा व्यापारको क्षेत्र ब्राजिलमा निकै निराशाजनक छ । यद्यपि ब्राजिलले आफ्ना जनतामा विदेशी भाषाको दक्षतामा वृद्धि गरी वैदेशिक व्यवसायबाट लाभ लिन सक्छ । पर्यटन क्षेत्र पनि ब्राजिलमा धेरै सम्भावना बोकेको क्षेत्र हो । विश्वकप तथा ओलम्पिक जस्ता खेल मेलाबाट समेत ब्राजिलले पर्यटन क्षेत्रमा विकाश गर्ने अवसर पाउँछ । 

ब्राजिल तथ्यांक तथा सूचनाको प्रवाहका हिसाबले पनि पछाडि छ, किनकि ब्राजिलको जनसंख्याको ठूलो हिस्सा अझै पनि इन्टरनेटको पहुँचमा छैन । डिजिटल सञ्जालमा आधुनिकीकरण र सुधारको माध्यमबाट ब्राजिलले आफ्नो उत्पादकत्व र आधुनिकीकरणमा सुधार गर्न सक्छ । ब्राजिलको संयोजनकारी एजेण्डाले मुख्यतया वैदेशिक प्रतिभाहरु भित्राउनेतर्फ केन्दि्रत हुनुपर्छ । दक्ष आप्रवासीहरु कुनै पनि देशको विकाशका लागि महत्वपूर्ण सावित हुनसक्छन् । सिलिकन भ्याली देखि, आयरल्याण्ड, भारत र ताइवान सबैले दक्ष आप्रवासीहरु उल्लेख्य संख्यामा भित्राएर उन्नति गरेका छन् । तथापि अहिले केवल ०.५ प्रतिशत ब्राजिली जनशक्तिमात्र विदेशी मूलका छन् । जबकि सन् १९०० को सुरुवातमा ५ प्रतिशत थिए । विशाल तथा बढ्दो उपभोक्ता बजारका कारण विश्वमा अर्को फेसबुक जन्माउन विश्वमा ब्राजिलभन्दा राम्रो ठाउँ कुन होला ? इन्स्टाग्रामका सह-सस्थापक ब्राजिलियन माइक क्रिगर आफ्नो भविष्य खोज्दै क्यालिफोर्निया हानिनु परेझैँ अरुले भविष्य खोज्न ब्राजिल छाड्नुपर्ने थिएन । यो महिना विश्वकपले संसारलाई ब्राजिलमा ल्याउँदैछ । तर, आफ्नैमा रहनका लागि निम्तो दिने, नदिने त्यो ब्राजिलको हातमा छ । 

 स्रोत : प्रोजेक्स सिन्डिकेट
Powered by Blogger.