Header Ads

चुनावी परिणामबारे भट्टराई पक्ष परामर्शमा

एकीकृत माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षधर नेताहरुले पार्टीको पोलिटब्युरो तथा स्थायी समितिमा आफुहरु निर्वाचित भए पनि त्यसमा बस्ने वा नबस्नेबारे निर्णय गरी नसकेको बताएका छन्। केही समयअघि विराटनगरमा भएको राष्ट्रिय सम्मेलनदेखि नै पार्टी अध्यक्ष प्रचण्डसँग वैचारिक तथा सांगठनिक विषयमा विमति राख्दै आएका भट्टराई पक्षधर नेताहरुले आफु सामेल नभएको पार्टीका शक्तिशाली निकायहरुको निर्वाचनको परिणामकाबारे अध्ययन गरेर मात्रै निस्कर्ष निकाल्ने बताएका छन्।

नतिजाको पर्खाइ 
विराटनगर राष्ट्रिय सम्मेलनले निर्वाचित गरे पनि लामो विवाद र छलफलपछि मात्रै भट्टराई सहित उनी पक्षधर नेताहरु केन्द्रिय समितिमा बस्न राजी भएका थिए। तर पार्टीका शक्तिशाली निकाय मानिने पोलिट्ब्युरो तथा स्थायी समितिको निर्वाचनमा उनीहरु सहभागी भएनन्। त्यसको परिणामलाई स्विकार्ने वा नस्वीकार्ने विषयमा, निर्वाचन प्रक्रिया सकिएपछि मात्रै निर्णय लिने भट्टराई पक्षधर नेता देवेन्द्र पौडेलले बताए। उनले भने, “के गर्ने भन्ने विषयमा समग्र चुनावी प्रक्रिया टुङ्गिएपछि निष्कर्षमा पुग्छौं, प्रक्रिया पुरा नहुन्जेल पर्खिएका हौं।” 

दृष्टान्त 
आफू उम्मेदवार नभएको र मतदान नगर्दा समेत निर्वाचित हुदै आएपछि त्यस्तो समितिमा बस्न मिल्छ कि मिल्दैन भन्ने नैतिक संकट भट्टराई पक्षधरहरुलाई पर्ने कतिपयको धारणा छ। भट्टराई पक्षधर अर्का नेता टोपबहादुर रायमाझी भन्छन्, “आफु उम्मेदवार नभएको र भोट नहालेको निर्वाचन के हुन्छ भन्ने त छलफलकै विषय छ, उहाँहरुले किन निर्वाचित गरिरहनु भएको छ उम्मेदवारै नभइकन पनि त्यो उहाँहरुको विषय हो, सबै पाटोमा अध्ययन गरेर मात्रै यस विषयमा जवाफ दिन्छौं।” तर विगतमा पनि प्रचण्डसँग विभिन्न मुद्दामा अन्तरविरोध रहदै आएता पनि अन्तत: भट्टराईले, प्रचण्डसँगै हिडेको दृष्टान्त भएकोले अहिलेको विवाद पनि केही दिनमै टुङ्गिने कतिपयको ठम्याई छ।
Powered by Blogger.