Header Ads

स्नोडेन देशद्रोही: विदेशमन्त्री केरी

अमेरिकी विदेश मन्त्री जोन केरीले भगौडा अमेरिकी गोप्य सूचना विश्लेषक एडवर्ड स्नोडेनलाई देशद्रोही कायर र अमेरिकी न्याय प्रणाली सामना गर्नबाट भागेको भनेका छन्। तर अमेरिकी टेलिभिजन संस्था एनबीसीलाई दिएको अन्तरवार्तामा स्नोडेनले आफु निम्न स्तरको विश्लेषक नभै विद्युतीय निगरानीमा काम गर्ने तालिमप्राप्त जासुस भएको बताएका छन्। अमेरिकी विदेश मन्त्री जोन केरीले गोप्य सूचना चुहाएका एडवर्ड स्नोडेनलाई न्यायको कठघराबाट भागेको भन्दै उनले आत्मसमर्पण गरेर घर फर्कनुपर्ने बताएका छन्। केरी भन्छन्, "स्नोडेनले यदि अमेरिकामाथि विश्वास गर्छन् भने अमेरिकी न्याय प्रणालीलाई पनि विश्वास गर्नुपर्छ।" 

जासुस
हालै एनबीसीलाई दिएको अन्तरर्वातामा स्नोडेनले अमेरिकाले उनको पासपोर्ट फिर्ता लिएकाले मात्रै आफुले रुसमा शरण खोजेको बताएका छन्। उनी आफु तल्लो स्तरको विश्लेषक नभै तालिमप्राप्त जासुस भएको बताउँछन्। केरीले बुधबार भने, "राष्ट्रभक्त भाग्नुहुँदैन। यदि स्नोडेन अमेरिका फिर्ता आउन चाहन्छन् भने हामी उनलाई तत्काल हवाइ उडानमा राख्नेछौं।" केरीले राष्ट्रिय सुरक्षा एजेन्सीका पूर्व ठेकेदारलाई अन्यौलग्रस्त भन्दै त्यस्तो मान्छे जसले राष्ट्रलाई गम्भीर क्षति पुर्याएको छ भनेका छन्।

तथ्यांक संकलक
एनबीसीका ब्रायन विलियम्सँग स्नोडेनको कुराकानी प्रसारण हुनु केहि घन्टा अघि विदेश मन्त्रीका यि भनाइहरु आएका हुन्। अन्तरवार्तामा स्नोडेनले भनेका छन्, "म परम्परागत रुपमा भन्ने हो भने तालिमप्राप्त सुराकी हुँ। मैले खतरनाक वातावरण भएका कैयौं देशमा सीआइए र एनएसएका लागि छद्मभेषमा काम गरेको छु। मलाई छुट्टै नाम समेत दिइएको थियो।" तर उनले आफुलाई एजेन्टहरु भर्ना गर्ने व्यक्ति नभै प्राविधिक विशेषज्ञ भनेका छन्। उनी भन्छन्, "म अमेरिकाका प्रणालीहरु ठिक तरहले काम गरुन् भन्ने निश्चित गर्ने काम गर्थेँ। त्यो मैले तल्लो तहदेखि माथिल्लो तहसम्म गरेको छु। अहिले सरकारले त्यो अस्वीकार गर्न सक्छ र मलाई निम्न स्तरको विश्लेषक भन्छ।" सन २०१३ मा अमेरिका छोडेका बेला उनी एनएसएका लागि काम गर्ने बज एलन भन्ने ठूलो सरकारी ठेकेदारका लागि प्राविधिकका रुपमा काम गर्थे।

चुहावट
गत वर्ष उनले एनएसका गोप्य कागजातहरु वाशिंगटन पोष्ट र गार्डियन लगायतका समाचार माध्यमलाई उपलब्ध गराइदिएका थिए। अरु कुराका साथमा अमेरिकाका दशौं लाख टेलिफोन कल रेकर्डहरुको तथ्यांक र एजेन्सीले विदेशी नेताहरुमाथि राखेको निगरानीका सूचना पनि स्नोडेनले चुहाइदिएका थिए। त्यो सार्वजनिक भएपछि अमेरिकामा एनएसएको सहि भूमिका र कुन तहसम्म यस्तो खालको ठूलो निगरानी राख्ने भन्ने बहस शुरु गराएको थियो। राष्ट्रपति बराक ओबामाले कंग्रेस समक्ष एनएसएले स्वतन्त्र रुपमा फोन कल तथ्यांक जम्मा गर्न बन्देज लगाउने र टेलिकम कम्पनीका रेकर्डमा पहुँच पाउन अदालतको आदेश चाहिने प्रस्ताव गरेका थिए। गत हप्ता अमेरिकी संसदले यो विधेयक पारित गरेर युएस सीनेटमा पठाएको छ।

Powered by Blogger.