Header Ads

विराटनगरका एक सय वर्ष सम्पूर्ण

पूर्वी नेपालको मोरंग जिल्लाको सदरमुकाम रंगेलीबाट विराटनगर सरेको एक सय वर्ष पुगेको छ। प्रजातान्त्रिक आन्दोलन र औद्योगिक क्रान्ति नगरीका रुपमा पहिचान बनाएको विराटनगरले शतवार्षिकी मनाइरहंदा उक्त शहरका उतारचढावबारे विक्रम निरौलाले यो आलेख तयार पारेका छन्। मोरंग जिल्लाको सदरमुकाम रंगेलीबाट विराटनगर सरेको एकसय वर्ष पुगेको अवसर पारेर विराटनगर उपमहानगरपालिकाले शतवार्षिकी महोत्सव मनाउंदैछ । उपमहानगरपालिकाले चालू आर्थिक वर्षलाई विराटनगर विकास वर्षका रुपमा अगाडि बढाउन विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

इतिहास
विराटनगरबाट २२ किलोमिटर पूर्वमा रहेको रंगेलीबाट विक्रम सम्वत् १९७१ सालमा मोरंगको सदरमुकाम विराटनगर सारिएको हो । तत्कालीन समयमा दक्षिणी सीमावर्ती भारतको शहर जोगवनीसम्म रेलसेवा सञ्चानल भएको र भारतसंग व्यापार व्यवसाय गर्न सजिलो हुने भएकाले रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको बुढापाकाहरु बताउँछन्। रंगेलीबाट सदरमुकाम विराटनगर सार्न त्यसबेला कृष्णप्रसाद कोइराला, सुब्बा गुञ्जमान, डिट्ठा कृष्णराज, हनुमानदास श्रेष्ठ, सुब्बा कालीदास, सुवेदार अनन्तराम लगायतको मुख्य योगदान रहेको विभिन्न दस्तावेजमा उल्लेख छ । पहिले औलोको डरले मानिस विराटनगर बस्न रुचाउँदैनथे । बूढापाकाहरूका अनुसार सदरमुकाम कायम भएपछि मात्र विराटनगरमा विस्तारै मानिस बस्ने क्रम बढेको र बस्ती विकासले गति लिएको हो । पहिले गाउँपञ्चायत रहेको विराटनगर २००८ सालमा नगरपालिका घोषणा भएको थियो । हालको विराटनगरलाई पहिले चन्द्रगञ्ज, नेपालगञ्ज र त्यसपछि गोग्राहा भन्ने गरिन्थ्यो । मोरङको बुधनगरस्थित भेडियारीमा विराट राजाको दरबार रहेकाले पछि यसको नाम विराटनगर राखिएको हो भन्ने भनाइ छ । त्यही भेडियारीबाट शतवाषिर्कीको मसाल बालेर विराटनगर ल्याइएको छ ।

औद्योगिक शहर
विराटनगर सदरमुकाम भएपछि यहाँ उद्योग स्थापनाको क्रम शुरू भएको देखिन्छ । चन्द्रशमशेरको पालामा विसं १९८० तिर विराटनगरको पोखरियामा एउटा राइस मिल स्थापना भएको थियो । तर, त्यो मिल लामो समय नचली बन्द भएकाले त्यसको नाम पछिसम्म रहन सकेन। विक्रम सम्वत् १९९३ मा विराटनगर जुट मिल स्थापना भयो । विराटनगर जुट मिलको स्थापनाबाट नै नेपालमा औद्योगिकीकरणको शुरूआत भएको हो । त्यसपछि स्थापना भएका दि जुद्ध म्याच उद्योग, अशोक टेक्सटायल, मोरंग सुगरमिल , गणपति कटन मिल लगायतका धेरै पुराना उद्योगहरु बन्द भइसकेका छन्। विराटनगर जुट मिल भने कहिले बन्द हुने र कहिले सञ्चालन हुंदै आएको छ ।

चुनौती
नेपालकै पुरानो र औद्योगिक शहरका रुपमा चिनिने विराटनगरले एक शताब्दी पूरा गर्दा पनि विकासमा अपेक्षित गति लिन नसकेको उद्योगी  यवसायीहरुको भनाइ छ । विराटनगरले विभिन्न कालखण्डमा आधा दर्जनभन्दा बढी प्रधानमन्त्री जन्माएपनि यसको विकास जुन गतिमा हुनुपर्ने हो, त्यो हुन नसकेको विराटनगरका अग्रज तोरेन्द्रमानसिंह प्रधानको अनुभव छ । कोइराला परिवारका मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यस्तै, पूर्वप्रधानमन्त्रीत्रय मनमोहन अधिकारी, कीर्तिनिधि विष्ट र नगेन्द्रप्रसाद रिजाल पनि विराटनगरकै हुन्। उद्योगी दिनेश गोल्छा पछिल्लो समयमा विराटनगरले आफनो पहिचान गुमाउंदै गएको बताउंछन । पुराना उद्योग बन्द हुंदै जाने र नयां उद्योग स्थापना हुन नसक्दा औद्योगिक नगर विराटनगर पछाडि पर्दै गएको गोल्छाको अनुभव छ । पछिल्लो समयमा उर्जा संकट चुलिंदै गर्दा औद्योगिक विकासले गति लिन नसकेको उद्योगी व्यवसायीहरुको बुझाइ छ । राजधानी काठमाण्डुपछिको दोस्रो ठूलो शहर भनिएको विराटनगरको विकासलाइ छिमेकी जिल्लाका इटहरी, धरान , दमक, बिर्तामोड लगायतका शहरहरुले उछिन्न खोज्दैछन् । बढ्दो शहरीकरण , सवारी साधनको बढ्दो चाप , अव्यवस्थित ढल तथा नालाको व्यवस्थापन विराटनगरका मुख्य चुनौती हुन् ।

गुनासो
विराटनगर सदरमुकाम भएको एक सय वर्ष पुगेको अवसरमा तामझामसहित शतवार्षिकी महोत्सव मनाइरहदा रंगेलीवासी भने चिन्तित छन् । जिल्लाको सदरमुकाम सरेपछि रंगेलीको विकास प्रयासमा राज्यले बेवास्ता गरेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् । स्थानीय अगुवा मंगलचन्द अग्रवाल भन्छन्, “विकासमा पछि परेपछि रंगेली खण्डहर जस्तै हुन लागेको छ”।
Powered by Blogger.