Header Ads

युक्रेनद्वारा रुस समर्थक विरुद्ध कडा चेतावनी

युक्रेन सरकारले वार्ता वा शक्तिको प्रयोगद्वारा ४८ घण्टाभित्र पूर्वी युक्रेनको संकट समाधान गरिने चेतावनी दिएको छ। दुईमध्ये एक विकल्पको प्रयोग गरेर दुई दिनभित्रै संकट समाधान गरिदिने आन्तरिक मामिला मन्त्री अभाकोभको भनाई छ। पूर्वी युक्रेनका दुई शहरमा अझैपनि रुस समर्थकहरुको समूहले सरकारी भवन कब्जामा लिइराखेका छन्। यस साताको शुरुमा यूक्रेनका अधिकारीहरुले उनीहरुकै शब्दमा सशस्त्र पृथकतावादीहरु विरुद्ध आतंकवाद विरोधी कारवाही थालेका थिए। उनीहरुले यी घटनाहरुको पछाडि मस्कोको हात रहेको आरोप लगाएका छन्।

तनाव
पूर्वी यूक्रेनका शहरहरु लुहान्सक डोनेत्सक र खार्किभका सरकारी भवनहरुलाई रुस समर्थकहरुले आइतबार कब्जामा लिएयता सो क्षेत्रमा तनाव एकदमै चर्किएको छ। पत्रकारहरुसँग बोल्ने क्रममा अभाकोभले सम्वाद चाहनेहरुसँग वार्ताको लागी आह्वान गरे।तर यदि कसैले द्वन्द्व चाहेका छन् भने तिनले यूक्रेनी सरकारबाट शक्तिशाली जवाफ पाउने उनले चेतावनी दिएका छन्। लुहान्सक शहरको राज्य सुरक्षा सेवा भवनभित्र रहेका सशस्त्र समूहका नाइकेले सहयोगका निम्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अपील गरेका छन्। आफुलाई भितालीको नामबाट चिनाउने उक्त नाइकेले लुहान्सकलाई यूक्रेनको अन्तिम आशा भन्दै पुटिनलाई आफ्ना लडाकूहरुप्रति सहयोग दर्शाउन आग्रह गरेका छन्। यसअघि यूक्रेनका सुरक्षा अधिकारीहरुले स्थानिय राजनीतिकर्मीहरुसँगको दुई चरणको कुराकानीपछि लुहान्सकका ती भवनबाट ५६ जना मानिसलाई बाहिर जान दिइएको बताए।

स्वायत्तता
ती भवन बाहिर रातभर भएका -यालीका दौरान वक्ताहरुले कियभको अन्तरिम नेतृत्वको तीखो आलोचना गर्दै अझ धेरै क्षेत्रीय स्वायत्तताको निम्ति जनमत संग्रहको माग गरेका छन्। त्यस्ता विरोध प्रदर्शनहरु अन्त गर्न शक्ति प्रयोग गरिए त्यसले गृहयुद्ध निम्त्याउने चेतावनी मस्कोले दिएको छ। यसैबीच अमेरिकी विदेश मन्त्री जन केरीले पूर्वी यूक्रेनको गडबडीका पछाडि रुसी विशेष फौज र एजेन्टहरु जिम्मेवार रहेको आरोप लगाएका छन्। केरीले भने, ‘’हामीले क्राइमियामा देखेको जस्तै यी सब सैनिक हस्तक्षेपका निम्ति जानाजान गराइएका गतिविधि हुन् भन्नेबारे कसैमा दुविधा नभए हुन्छ र कसैमा भएको पनि छैन।‘’ संकट समाधानका लागि आगामी साता यूरोपेली यूनियन रुस अमेरिका र यूक्रेनबीच बैठक बस्दैछ।

Powered by Blogger.