Header Ads

नेपाली क्रिकेट खेलाडीहरुको भव्य स्वागत

काठमाण्डू। बंगलादेशको चिट्टगोंगमा टि ट्वेन्टी विश्वकप क्रिकेटमा तीन खेलमध्ये दुई खेलमा शानदार प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ। सरकारले सम्मानसहित प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ। चीर प्रतिद्वन्द्वि अफ्गानिस्तानविरुद्ध ऐतिहासिक जीत दर्ता गरेको भोलिपल्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा त्यहाँ पुगेका हजारौ समर्थक र नेपाल क्रिकेट संघका पदाधिकारीले खेलाडीहरुको पञ्चेबाजासहित स्वागत गरे। नेपाली क्रिकेट खेलाडीहरुलाई स्वागत गर्न पुगेका कैयौको हातमा राष्ट्रिय झण्डा थियो भने कसै कसैले अनुहारमा राष्ट्रिय झण्डाको चित्र बनाएका थिए। त्यस्तै कतिपयले नेपाली क्रिकेट टिमको जर्सी लगाएका थिए।

विमानस्थल पुगेका एक जना समर्थक विमल बोल्खेले भने, ‘’नेपाली खेलाडीहरुले इतिहास रचेको जस्तो मलाई लागेको छ।‘’ आफ्नो समूहको ३ खेलमध्ये एउटामा सम्मानजनक हार र बाँकी दुईमा शानदार जीत हासिल गरेका नेपाली क्रिकेट खेलाडीहरु निकै हर्षित मुद्रामा देखिन्थे। नगर परिक्रमापछि पत्रकारहरुसँग कुरा गर्दै कप्तान पारस खडकाले क्रिकेट नेपालीहरुलाई एकताबद्ध गर्ने माध्यम बनेको बताए। खडकाले भने, ‘’क्रिकेट अब एक खेलमात्र नभई मुलुकलाई एकताको सूत्रमा बाँध्ने तत्व बनेको छ।‘’ नेपाली खेलाडीहरुले गरेको उत्कृष्ट प्रदर्शनको कदर गर्दै विभिन्न संस्थाहरुले नगद लगायत पुरस्कार प्रदान गर्ने घोषणा गरिरहेका बेला सरकारले पनि खेलाडीहरुलाई सम्मानसहित प्रत्येक खेलाडीलाई ५ लाख रुपैयाँ दिने जनाएको छ। अब पुरस्कार मात्र नभई खेलको स्तर अझ उकास्न पूर्वाधार निमार्णका लागि पनि सरकारले युद्धस्तरमा काम गर्नुपर्ने क्रिकेटप्रेमीहरु बताउँछन्।


Powered by Blogger.